२०८२ फाल्गुन ४
February 16, 2026, Monday

शैलुङ, शालुङ, शाअीलुङ, सेलयुङ, साङ्गेल्हुङ खास के हो ?–एक खोज यात्रा ।

शैलुङ, शालुङ, शाअीलुङ, सेलयुङ, साङ्गेल्हुङ खास के हो ?–एक खोज यात्रा ।

म सानो छँदा, जाडो महिनाको साँझमा आगो ताप्दै हजुरआमाले सुनाउने कथाहरू अझै कानमा गुञ्जिन्छन् । ती कथाहरूमा सधैं एक पात्र हुन्थ्यो–बनझाँक्री । हजुरआमा भन्थिन्, “हिउँदमा त सुनसान देखिन्छ, तर वर्षा लाग्ने बित्तिकै देखिने त्यो ल्हा छाँगा (शैलुङ झरना)मा बनझाँक्री बस्छ ।” अनि त्यो झरनामा जब घामपानी एकसाथ पथ्र्यो, इन्द्रेणीका थरिथरि गाडा,फिका सप्त रंगहरू देखिन्थे । हामी बालबालिकालाई त्यो दृश्य जादूमय लाग्थ्यो ।
शैलुङको भौगोलिक अवस्थिति अनौठो छ । सामुन्ने पाखो काभ्रेको नाग्रेगागार्चे र सिन्धुपाल्चोकको ह्रिस्योङघु (लिसंखु) पर्छ, तर यसको काखमा फैलिएको क्षेत्र रामेछाप र दोलखासम्म विस्तारित छ । शैलुङ क्षेत्र पश्चिम भेगका बासिन्दाहरूको मुख्य शैक्षिक केन्द्र काभ्रेको खाँडादेवी मावि हो । यतिखेर पनि त्यो स्कुल शैलुङ आसपासका बस्तीहरूका साझा थलो नै हो ।
हामी स्कुले केटाकेटी ‘शैलुङ’ उच्चारण गर्न सजिलो लाग्थ्यो । तर मेरो हजुरआमा भने लेप्रो तान्दै “शाअीलुङ भन्नु हुन्थ्यो । उहाँको त्यो उच्चारण हामीलाई असजिलो लाग्थ्यो, र हामी ठट्टा गर्दै “बुढी माम, शैलुङ हो, शाअीलुङ होइन” भन्थ्यौं । तामाङ बस्तिमा सबैले शाअीलुङ नै भन्थ्यो । तर उहाँको बोली कहिल्यै फेरिएन । मामलाई शैलुङ भन्न कहिले बानी परेन । हामीलाई ‘शाअीलुङ’ भन्न आएन । बरु गलत उच्चारण होला,तामाङ लवज मिसमास हुँदा खिसीटिउरी खेप्नु पर्ला भनेर सधै सतर्क रह्यौं । माम २०५४ साल तिरै बितेर जानू भयो । करिब तीस बर्ष पछाडि खास के हो ? म आज खोजी गर्दैछु–शैलुङको सही नाम के हो? शैलुङ,शालुङ,सेलयुङ,साङ्गेल्हुङ कि शाअीलुङ?
‘शैलुङ’ शब्द तामाङ भाषाबाट ब्युउत्पत्ति भएको कुरामा कसैको दुईमत छैन । यसको व्युत्पत्तिमा सबैले सहमति जनाउँछन् । अर्थ भने अलग अलग लगाउछन् । तामाङ शब्द एकअक्षरिया भएकाले हरेक शब्दको अर्थ हुन्छ । सय वटा थुम्काहरु भएर शैलुङ नामकरण भएको भनिएता पनि यो नितान्त पछिल्लो नयाँ तर्क देखिन्छ । शैलुङको खास अर्थ भेटिदैन । शै÷शाअी र सय पक्कै एउटै होईन । लुङको नेपाली शब्दकोषमा अर्थ भेटिने कुरै भएन । खासमा यो शालुङ वा शाअीलुङ नै हुनु पर्दछ । शा भन्नाले “जमिन÷भुगोल” र लुङ÷ल्हुङ भन्नाले जंगल÷पहाड÷थुम्का÷हावा÷वायु÷” वा “पवित्र स्थान” जनाउँछ । यसरी शाअीलुङ भन्नाले “पवित्र भुगोल÷जमिन” भन्ने अर्थ दिन्छ । समयक्रममा स्थानीय बोलीमा र खस भाषाको अतिक्रमणको प्रभावले गर्दा यसलाई ‘शैलुङ’ भनेर भनिएको देखिन्छ ।
शैलुङ गाउँपालिका दोलखाले आफ्नो परिचय यसरी दिएका छन्ः ‘शैलुङ’ सम्बन्धि स्थानीयहरु माझ विभिन्न किवदन्तीहरु प्रचलन रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो । पछि अपभ्रश हुँदै शैलुङ रहन गयो । (शैलुङ गाउँपालिका दोलखा)

खोज तथा अनुसन्धान कर्ता जीवन कुमार योञ्जनको भने फरक तर्क छ ।

“बोनकालमा शैलुङ नगइकन कुनै बोन्पो सिद्ध हुन्थेन । शैलुङमा गएर जप तप र ध्यान बसेपछि त्यहाँबाट शेलयुङ (दर्शन ढुङ्गा ) ल्याएर घरमा ढाला राखेर मात्र गुरुबाट मन्त्र प्राप्त हुन्थ्यो । यसरी त्यो ठाउँबाट शेलयुङ ल्याउने क्रममा शेलयुङ हुँदै अपभ्रंश भइ शैलुङ भएको हो । यहिकारण ग्याब्रियला टाउसरले आफ्नो पुस्तक Himalayan Mountain Cults Sailung, Kalinchok and Gosainkunda Rituals Territorial Tamang Historical df z}n’ªnfO{ Crystal  भनेका छन् । शेल + युङ दुई शब्दको संयोजनबाट शैलुङ भनेको हो । नेवारले ङ्यु, तामाङले युङ र राई लिम्बुले लुङ भन्नुको अर्थ ढुङ्गा हो ।” (खोज अनुसन्धान कर्ता जीवन कुमार योञ्जन)
शैलुङ वरिपरिका बस्तीहरूःदोरम्बा,(दो+रम्बा–दुई म्हाने),पोडी(पोङ्थी),थापागाँउ(थागुङ),तामचेत(उन्युउ),दर्गा(धाराङा)सयौं टोल बस्तीको नाम तामाङ भाषाबाट आएको देखिन्छ । गौस्वार सम्भवतः मगर भाषाको शब्द हो ।
आजको दिनमा पनि शैलुङ कुनै सामान्य डाँडा होइन । यो ठाउँ धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । यहाँको डाँडाबाट देखिने सूर्योदय, पवित्र झरना र हिमाली दृश्यहरूले यसलाई केवल भूगोलमै सीमित नराखी जनमानसको भावनामा पनि गहिरो छाप छाडेको छ ।
शैलुङको अर्थ ‘सयवटा थुम्का’ भन्ने तर्क नितान्त नयाँ र खस भाषाको प्रभाब देखिन्छ, जबकि ‘साङ्गेल्हुङ’ भने बुद्ध साङ्गे माह्मोर्चेसँग जोडिएको पाइन्छ ।
तामाङहरू बौद्ध हुनुभन्दा पहिला बोन धर्म मान्दथे । बोन सभ्यता धेरै पुरानो हो । बोनपोहरूका लागि शैलुङ एक पवित्र स्थल थियो, जहाँ सेलयुङ पूजा हुने गथ्र्यो । त्यही सेलयुङ शब्द अपभ्रंश हुँदै शैलुङ बनेको तर्क प्राचीन र प्रमाण सहितको देखिन्छ ।


तर शैलुङ वरिपरिका प्राचीन तामाङ बस्तीहरूको उच्चारण र स्थानीय तामाङ शब्दको अर्थलाई आधार मान्ने हो भने ‘शालुङ’ वा ‘शाअीलुङ’ नै अपभ्रंश हुँदै शैलुङ बनेको देखिन्छ, र वास्तविकता पनि यही तर्फ झुकेको छ ।
अन्तमाः भाषा संवादको माध्यम मात्र होइन, त्यो हाम्रो इतिहास, संस्कार,संस्कृति र पहिचानको जरा हो । शब्दहरू ध्वनि मात्र होइनन्, अस्तित्वका गहिरा प्रमाण पनि हुन् ।
आज म बुझ्दैछु–हजुरआमाले उच्चारण गर्नुभएको ‘शाअीलुङ’ कुनै “गलत उच्चारण” थिएन, त्यो उहाँको भाषा, पहिचान र आत्माको स्वर थियो । हामीले बिर्सँदै गरेका शब्दहरू, उच्चारणहरू, नामहरू–सबै हाम्रो ईतिहासको प्रतिबिम्ब हुन् । बाल्यकालमा हामीले हजुरआमाको “शाअीलुङ” भन्ने उच्चारणलाई असजिलो ठान्यौं, तर आज त्यो उच्चारणमा गुम्सिएको पहिचान र सत्यताले मलाई झकझकाई रहेको छ ।
हजुरआमाले भन्नुभएको “शाअीलुङ” कुनै गलत उच्चारण थिएन, त्यो त शैलुङको बास्ताबिक नाम थियो, जुन तामाङ भाषाको अर्थ, बोन सभ्यताको गहिरो जरा र बुद्धकालीन इतिहाससँग गासिएको थियो ।

हामीले समयसँगै सजिलो उच्चारणलाई रोज्यौं, तर त्यही सहजताको बाटोमा कतिबेला हामीले आफ्नो जरा, भाषा,आस्था र पहिचान गुमायौं–थाहै भएन ।

हो, हजुरआमा सही हुनुहुन्थ्यो–उहाँको बोलीमै हाम्रो इतिहास बाँचिरहेको थियो ।

 

Related News

जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
  • २०८२ जेष्ठ १५

कोशीपारी अनलाइन संवाददाता माघ ३, काठमाण्डौं शिजुओका (जापान) — जापानको शिजुओका सहरमा मञ्जुश्री संवत २८६२ को अवसरमा सोनाम ल्होछार २०२६...

काफ्लेमा सोनाम ल्होछार–२०८२ भव्य रूपमा मनाइने
काफ्लेमा सोनाम ल्होछार–२०८२ भव्य रूपमा मनाइने
  • २०८२ जेष्ठ १५

कोशीपारी अनलाइन, काभ्रे माघ १, २०८२ काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं.३ अन्तर्गत काफ्लेमा  सोनाम ल्होछार–२०८२ को अवसरमा शुभकामना आदान–प्रदान...

लामो चाडपर्व विदा र गुणस्तरीय शिक्षा
लामो चाडपर्व विदा र गुणस्तरीय शिक्षा
  • २०८२ जेष्ठ १५

कोशीपारी अनलाइन कात्तिक ४, काठमाण्डौं नेपालमा शिक्षा सबैका अधिकार हो भन्ने भनाई जाति सुन्दर सुनिन्छ, त्यसको व्यवहारिक रुप त्यति नै...

TOP