म सानो छँदा, जाडो महिनाको साँझमा आगो ताप्दै हजुरआमाले सुनाउने कथाहरू अझै कानमा गुञ्जिन्छन् । ती कथाहरूमा सधैं एक पात्र हुन्थ्यो–बनझाँक्री । हजुरआमा भन्थिन्, “हिउँदमा त सुनसान देखिन्छ, तर वर्षा लाग्ने बित्तिकै देखिने त्यो ल्हा छाँगा (शैलुङ झरना)मा बनझाँक्री बस्छ ।” अनि त्यो झरनामा जब घामपानी एकसाथ पथ्र्यो, इन्द्रेणीका थरिथरि गाडा,फिका सप्त रंगहरू देखिन्थे । हामी बालबालिकालाई त्यो दृश्य जादूमय लाग्थ्यो ।
शैलुङको भौगोलिक अवस्थिति अनौठो छ । सामुन्ने पाखो काभ्रेको नाग्रेगागार्चे र सिन्धुपाल्चोकको ह्रिस्योङघु (लिसंखु) पर्छ, तर यसको काखमा फैलिएको क्षेत्र रामेछाप र दोलखासम्म विस्तारित छ । शैलुङ क्षेत्र पश्चिम भेगका बासिन्दाहरूको मुख्य शैक्षिक केन्द्र काभ्रेको खाँडादेवी मावि हो । यतिखेर पनि त्यो स्कुल शैलुङ आसपासका बस्तीहरूका साझा थलो नै हो ।
हामी स्कुले केटाकेटी ‘शैलुङ’ उच्चारण गर्न सजिलो लाग्थ्यो । तर मेरो हजुरआमा भने लेप्रो तान्दै “शाअीलुङ भन्नु हुन्थ्यो । उहाँको त्यो उच्चारण हामीलाई असजिलो लाग्थ्यो, र हामी ठट्टा गर्दै “बुढी माम, शैलुङ हो, शाअीलुङ होइन” भन्थ्यौं । तामाङ बस्तिमा सबैले शाअीलुङ नै भन्थ्यो । तर उहाँको बोली कहिल्यै फेरिएन । मामलाई शैलुङ भन्न कहिले बानी परेन । हामीलाई ‘शाअीलुङ’ भन्न आएन । बरु गलत उच्चारण होला,तामाङ लवज मिसमास हुँदा खिसीटिउरी खेप्नु पर्ला भनेर सधै सतर्क रह्यौं । माम २०५४ साल तिरै बितेर जानू भयो । करिब तीस बर्ष पछाडि खास के हो ? म आज खोजी गर्दैछु–शैलुङको सही नाम के हो? शैलुङ,शालुङ,सेलयुङ,साङ्गेल्हुङ कि शाअीलुङ?
‘शैलुङ’ शब्द तामाङ भाषाबाट ब्युउत्पत्ति भएको कुरामा कसैको दुईमत छैन । यसको व्युत्पत्तिमा सबैले सहमति जनाउँछन् । अर्थ भने अलग अलग लगाउछन् । तामाङ शब्द एकअक्षरिया भएकाले हरेक शब्दको अर्थ हुन्छ । सय वटा थुम्काहरु भएर शैलुङ नामकरण भएको भनिएता पनि यो नितान्त पछिल्लो नयाँ तर्क देखिन्छ । शैलुङको खास अर्थ भेटिदैन । शै÷शाअी र सय पक्कै एउटै होईन । लुङको नेपाली शब्दकोषमा अर्थ भेटिने कुरै भएन । खासमा यो शालुङ वा शाअीलुङ नै हुनु पर्दछ । शा भन्नाले “जमिन÷भुगोल” र लुङ÷ल्हुङ भन्नाले जंगल÷पहाड÷थुम्का÷हावा÷वायु÷” वा “पवित्र स्थान” जनाउँछ । यसरी शाअीलुङ भन्नाले “पवित्र भुगोल÷जमिन” भन्ने अर्थ दिन्छ । समयक्रममा स्थानीय बोलीमा र खस भाषाको अतिक्रमणको प्रभावले गर्दा यसलाई ‘शैलुङ’ भनेर भनिएको देखिन्छ ।
शैलुङ गाउँपालिका दोलखाले आफ्नो परिचय यसरी दिएका छन्ः ‘शैलुङ’ सम्बन्धि स्थानीयहरु माझ विभिन्न किवदन्तीहरु प्रचलन रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो । पछि अपभ्रश हुँदै शैलुङ रहन गयो । (शैलुङ गाउँपालिका दोलखा)

खोज तथा अनुसन्धान कर्ता जीवन कुमार योञ्जनको भने फरक तर्क छ ।
“बोनकालमा शैलुङ नगइकन कुनै बोन्पो सिद्ध हुन्थेन । शैलुङमा गएर जप तप र ध्यान बसेपछि त्यहाँबाट शेलयुङ (दर्शन ढुङ्गा ) ल्याएर घरमा ढाला राखेर मात्र गुरुबाट मन्त्र प्राप्त हुन्थ्यो । यसरी त्यो ठाउँबाट शेलयुङ ल्याउने क्रममा शेलयुङ हुँदै अपभ्रंश भइ शैलुङ भएको हो । यहिकारण ग्याब्रियला टाउसरले आफ्नो पुस्तक Himalayan Mountain Cults Sailung, Kalinchok and Gosainkunda Rituals Territorial Tamang Historical df z}n’ªnfO{ Crystal भनेका छन् । शेल + युङ दुई शब्दको संयोजनबाट शैलुङ भनेको हो । नेवारले ङ्यु, तामाङले युङ र राई लिम्बुले लुङ भन्नुको अर्थ ढुङ्गा हो ।” (खोज अनुसन्धान कर्ता जीवन कुमार योञ्जन)
शैलुङ वरिपरिका बस्तीहरूःदोरम्बा,(दो+रम्बा–दुई म्हाने),पोडी(पोङ्थी),थापागाँउ(थागुङ),तामचेत(उन्युउ),दर्गा(धाराङा)सयौं टोल बस्तीको नाम तामाङ भाषाबाट आएको देखिन्छ । गौस्वार सम्भवतः मगर भाषाको शब्द हो ।
आजको दिनमा पनि शैलुङ कुनै सामान्य डाँडा होइन । यो ठाउँ धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । यहाँको डाँडाबाट देखिने सूर्योदय, पवित्र झरना र हिमाली दृश्यहरूले यसलाई केवल भूगोलमै सीमित नराखी जनमानसको भावनामा पनि गहिरो छाप छाडेको छ ।
शैलुङको अर्थ ‘सयवटा थुम्का’ भन्ने तर्क नितान्त नयाँ र खस भाषाको प्रभाब देखिन्छ, जबकि ‘साङ्गेल्हुङ’ भने बुद्ध साङ्गे माह्मोर्चेसँग जोडिएको पाइन्छ ।
तामाङहरू बौद्ध हुनुभन्दा पहिला बोन धर्म मान्दथे । बोन सभ्यता धेरै पुरानो हो । बोनपोहरूका लागि शैलुङ एक पवित्र स्थल थियो, जहाँ सेलयुङ पूजा हुने गथ्र्यो । त्यही सेलयुङ शब्द अपभ्रंश हुँदै शैलुङ बनेको तर्क प्राचीन र प्रमाण सहितको देखिन्छ ।

तर शैलुङ वरिपरिका प्राचीन तामाङ बस्तीहरूको उच्चारण र स्थानीय तामाङ शब्दको अर्थलाई आधार मान्ने हो भने ‘शालुङ’ वा ‘शाअीलुङ’ नै अपभ्रंश हुँदै शैलुङ बनेको देखिन्छ, र वास्तविकता पनि यही तर्फ झुकेको छ ।
अन्तमाः भाषा संवादको माध्यम मात्र होइन, त्यो हाम्रो इतिहास, संस्कार,संस्कृति र पहिचानको जरा हो । शब्दहरू ध्वनि मात्र होइनन्, अस्तित्वका गहिरा प्रमाण पनि हुन् ।
आज म बुझ्दैछु–हजुरआमाले उच्चारण गर्नुभएको ‘शाअीलुङ’ कुनै “गलत उच्चारण” थिएन, त्यो उहाँको भाषा, पहिचान र आत्माको स्वर थियो । हामीले बिर्सँदै गरेका शब्दहरू, उच्चारणहरू, नामहरू–सबै हाम्रो ईतिहासको प्रतिबिम्ब हुन् । बाल्यकालमा हामीले हजुरआमाको “शाअीलुङ” भन्ने उच्चारणलाई असजिलो ठान्यौं, तर आज त्यो उच्चारणमा गुम्सिएको पहिचान र सत्यताले मलाई झकझकाई रहेको छ ।
हजुरआमाले भन्नुभएको “शाअीलुङ” कुनै गलत उच्चारण थिएन, त्यो त शैलुङको बास्ताबिक नाम थियो, जुन तामाङ भाषाको अर्थ, बोन सभ्यताको गहिरो जरा र बुद्धकालीन इतिहाससँग गासिएको थियो ।
हामीले समयसँगै सजिलो उच्चारणलाई रोज्यौं, तर त्यही सहजताको बाटोमा कतिबेला हामीले आफ्नो जरा, भाषा,आस्था र पहिचान गुमायौं–थाहै भएन ।
हो, हजुरआमा सही हुनुहुन्थ्यो–उहाँको बोलीमै हाम्रो इतिहास बाँचिरहेको थियो ।
कोशीपारी अनलाइन संवाददाता माघ ३, काठमाण्डौं शिजुओका (जापान) — जापानको शिजुओका सहरमा मञ्जुश्री संवत २८६२ को अवसरमा सोनाम ल्होछार २०२६...
कोशीपारी अनलाइन, काभ्रे माघ १, २०८२ काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं.३ अन्तर्गत काफ्लेमा सोनाम ल्होछार–२०८२ को अवसरमा शुभकामना आदान–प्रदान...
कोशीपारी अनलाइन कात्तिक ४, काठमाण्डौं नेपालमा शिक्षा सबैका अधिकार हो भन्ने भनाई जाति सुन्दर सुनिन्छ, त्यसको व्यवहारिक रुप त्यति नै...