कोशीपारी अनलाईन/ काठमाण्डौ
बहुदलीय व्यवस्था आइसकेपछि नेपालमा भोटको राजनीति शुरू भयो । भोट सुरक्षित गर्न राज्यको स्रोत र साधनमाथि सरकार संचालन गर्नेहरूले अधिकार जमाउन थाले । सीमित मात्रामा रहेको स्रोत-साधनलाई राजनीतिक दलहरूले आफू अनुकूल केवल भोट र निर्वाचनको प्रयोजनका लागि मात्र वितरण गर्न शुरू गरे ।
६/६ महीनामा सरकार अदल-बदल हुने र हरेक सरकारपिच्छे नयाँ आयोजना घोषणा हुन थाले । यसले दीर्घकालीन महत्व बोकेका, अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनमा समेत योगदान गर्न सक्ने स्तरका आयोजनालाई स्रोत र साधनको अभाव हुन गयो । घोषणा भएको लामो समयसम्म पनि आयोजनाले गति लिन नसक्ने अवस्था आएसँगै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अवधारणा अनुसार आर्थिक वर्ष २०६८/६९ मा नेपालमा राष्ट्रिय गौरवका आयोजनाको छनोट भएको हो ।
आयोजना छनोट गर्दा आर्थिक-सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बृहत् पूर्वाधार निर्माण, संस्कृति र वातावरण संरक्षणसँग सम्बन्धित रणनीतिक आयोजनालाई छनोट गरी यो सूचीमा राखिएको हो ।
यसो गर्नुको पछाडि राजनीतिक लुछाचुँडी, तानातान र विवादै विवादको बीचमा पनि मुलुकको समृद्धिमा योगदान पुर्याउने आयोजनामा निरन्तर बजेट पुगिरहोस् भन्ने थियो । राष्ट्रिय गौरवका आयोजना छनोट गर्दा कतै पनि भोट वा चुनावी ‘स्टन्ट’ हेरिएको थिएन । सबै राजनीतिक दलको सर्वमान्य आयोजना, जसमा राष्ट्रिय सहमति थियो, ती आयोजना मात्र यो सूचीमा अटाएका थिए ।
यसरी सूचीकृत गर्नुका पछाडि स्रोत सुनिश्चित होस्, तीव्र गतिमा निर्णय प्रक्रियामा जाओस्, अवरोध हटोस् र जनशक्ति, निर्माण सामग्री, जग्गा प्राप्ति जस्ता समस्या नहोस् भन्ने उद्देश्य थियो ।
तर, अब त्यो पवित्र उद्देश्यबाट ल्याइएको नीतिलाई नेताहरूले आफू अनुकूल संचालन गर्न थालेका छन् । एकातिर सरकारले चुरे जोगाउन ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ ल्याएको छ । अर्कोतर्फ त्यही चूरे क्षेत्र हुँदै पूर्वपश्चिम जोड्ने गरी ‘मदन भण्डारी राजमार्ग’ बनाइरहेको छ ।
यो कस्तो विकासको अवधारणा हो ? तल महेन्द्र राजमार्ग छ । त्यसको सँगै पूर्वपश्चिम रेलमार्ग समेत निर्माणको योजना छ । कतिपय स्थानमा काम नै अगाडि बढेको छ । पहाडमा पुष्पलाल लोकमार्गको नाममा मध्यपहाडी राजमार्ग निर्माण भइरहेको छ ।
त्यसमाथि हिमालमा समेत पूर्वपश्चिम राजमार्गको योजना छ । त्यसो भए चुरेकै बीचबाट किन मदन भण्डारी राजमार्ग चाहियो ? किनकि यहाँ दलहरूले भोटको राजनीति गर्नुछ । राज्यको प्राथमिकता नयाँ आयोजना शुरू गर्ने नभई अगाडि बढेका तर स्रोत अभावमा पूरा हुन नसकेका आयोजना छिटो सम्पन्न गराउने हुनुपर्ने थियो । त्यसो हुन सकेन ।
अर्कोतर्फ, राष्ट्रिय गौरवका आयोजनाले भौगोलिक र क्षेत्रगत रूपमा समानुपातिक विकासको समेत अवधारणा बोकेको थियो । गोरखामा बन्ने जलविद्युत् आयोजनाको बिजुली झापाको नागरिकले समेत उपयोग गर्न पाउँछ ।
तर, केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला झापामा समृद्धि र हरियाली हुने, कर्णाली र सुदूरपश्चिम भोकमरीमै पर्ने परिपाटी दोहोरिएला भन्ने चाहिं सोचिएको थिएन । राज्यले गर्ने लगानी सबै नागरिकका लागि समान हुनुपर्छ, पहुँचका आधारमा मात्र स्रोतको दोहन हुनुहुँदैन भनेरै आयोजनालाई प्राथमिकतामा राखिएको हो ।
अहिले राष्ट्रिय प्राथमिकताका आयोजनामा पनि सत्तारुढ दलहरूले मनपरी गर्न थालेका छन् । विगतमा १७ वटा आयोजना रहेकोमा अहिले बढाएर २२ पुर्याइएको छ । संसदबाट पास नभएको एमसीसी राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरिएको छ । निश्चित मापदण्ड पूरा गरी परेको शहीद स्मारक निर्माणको आयोजना झिकिएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको संख्या बढाउने होडबाजी चलेको छ । नाम मात्रको गौरवको आयोजनाका लागि यो अवधारणा आएकै होइन । युद्धस्तरमा ठूला परियोजनामा काम होस् र मुलुक तथा जनताले त्यसको छिटो लाभ पाउन् भन्ने आयोजनाको उद्देश्यलाई अहिलेका सरकारहरूले पछ्याएको पाइँदैन ।
आज राष्ट्रिय गौरवका आयोजनाको संख्या बढाउन गरिएको होडबाजी हेर्दा लाग्छ, कुनै समय शहीदको संख्या बढाउन यस्तै होडबाजी चलेको थियो । दुर्घटनामा मान्छे मरे पनि शहीद घोषणा गरिन्थ्यो । यसले शहीद शब्दकै अपमान हुने अवस्था आयो ।
आज राष्ट्रिय गौरवका आयोजनामा भएको गतिविधि हेर्दा पनि यो नीति नै निकम्मा हो भन्ने देखाउन खोजेजस्तो लाग्छ । त्यसो गर्न सकियो भने दलहरूले आफ्ना कार्यकर्तालाई मात्र लाभ हुने गरी आफू अनुकूलका आयोजना ल्याउन सक्छन् । उनीहरूले ठूला आयोजनालाई पर्याप्त रकम राख्नुपर्ने छैन ।
अर्थ मन्त्रालयको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार राष्ट्रिय गौरवका आयोजनाको खर्च प्रगति १५ प्रतिशत नाघेको छैन । यसबाट पनि सरकारको प्राथमिकतामा यी आयोजना आज पनि छैनन् भन्ने देखिन्छ । कतिपय आयोजनामा आयोजना पूर्वको तयारीकै कामहरूमा सरकारी निकायबीच समन्वय हुनसकेको छैन । सरकारले गति दिंदा अगाडि बढ्ने आयोजनालाई समेत विभिन्न बहानामा रोक्ने काम भएको छ । यसले भेरियसनमा जाने, मुद्दा मामिला गर्ने र अन्त्यमा आयोजना नै ठीक छैन भन्ने पार्न खोजिएको पनि देखिन्छ ।
यी सबै समस्याको जड सरकारको इच्छाशक्तिमै रहन्छ । एकातर्फ विपक्षीले काम गर्न दिएनन् भन्ने र अर्कोतर्फ दुई घण्टासम्म कामको फेहरिस्त सुनाउने प्रधानमन्त्रीले कामको प्रगति यी आयोजनामार्फत देखाउन सक्नुपर्छ, जसले मुलुक परिवर्तन गर्न सक्ने सामर्थ्य राख्छन् ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...
कोशीपारी अनलाइन कात्तिक ४, काठमाण्डौं नेपालमा शिक्षा सबैका अधिकार हो भन्ने भनाई जाति सुन्दर सुनिन्छ, त्यसको व्यवहारिक रुप त्यति नै...
कोशीपारी अनलाइन संवाददाता कात्तिक ३, काठमाण्डौं राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन् । तिहारको अवसरमा...