कोशीपारी अनलाइन
कात्तिक ४, काठमाण्डौं
नेपालमा शिक्षा सबैका अधिकार हो भन्ने भनाई जाति सुन्दर सुनिन्छ, त्यसको व्यवहारिक रुप त्यति नै जटिल छ । “सबै बालबालिकाका् विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारा सरकारी विद्यालयका पर्खालमा टाँसिएको हुन्छ, तर त्यो नारा प्रायः कागजमै सीमित रहन्छ । यसको मुख्य कारणमध्ये एक हो, चाडपर्वका नाममा अत्याधिक विदा र अनियमित पठनपाठन ।
गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कमजोर एसईई नतिजालाई संकेत गर्दै “५० प्रतिशतभन्दा कम नतिजा ल्याउनेलाई तनखा ?” भन्दै शिक्षकहरुप्रति आक्रोश व्यक्त गरेका थिए । नतिजा कमजोर हुनुमा शिक्षकहरुको जिम्मेवारी एउटा पाटो हो, तर पूर्ण जिम्मेवारी भने राज्यको हो । वार्षिक शैक्षिक क्यालेन्डर तयार गर्ने काम स्थानीय सरकारको हो, भने शिक्षा ऐन, नियम र शैक्षिक बजेट व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय सरकारको हो । यसरी हेर्दा राज्य प्रणाली शिक्षा र शैक्षिक गुणस्तर प्रति गम्भीर छैन भन्ने प्रष्ट हुन्छ ।
यो वर्ष उदाहरण लिनुपर्दा, असोज २ गतेदेखि नै धेरै सरकारी विद्यालयहरु बन्द भए, जबकि निजी विद्यालयहरु असोज ७ गतेसम्म चलिरहेका थिए । दशैं सकिनासाथ निजी विद्यायलयहरु खुले, तर सरकारी विद्यायलयहरु छठ पर्वपछि मात्रै सञ्चालन हुने स्थिति रह्यो । औपचारिक रुपमा विद्यायलय कात्र्तिक ११ गते खुले पनि , तराईबाट फर्किने शिक्षकहरु नआएसम्म वास्तविक पढाइ कात्र्तिक १६ गतेबाट मात्रै सुरु हुनेछ । यसरी हेर्दा करिब ४५ दिनको शिक्षण समय सिधैं गुम्यो ।
असार–साउन महिनामा खेतीपाती र लगातारको वर्षाका कारण पनि पढाइ नियमित हुँदैंन । पुस–माघमा चिसो, सितलहर र हिमपातले पठनपाठन अबरुद्ध गर्छ । जेष्ठ असारमा तराईमा अध्याधिक गर्मीका कारण पढाइ प्रभावित हुन्छ । यी सबै जोड्दा मात्रै पनि करिब ७५ दिन मौसमी कारणले विद्यालय बन्द हुने देखिन्छ । दशैं–तिहार र छठ सम्मको ४५ दिनको विदा मिलाएर हेर्दा करिब १२० दिन शिक्षण प्रभावित हुन्छ । बाँकी दिनहरुमा पनि बैशाख महिनाको भर्ना अभियान, पाठ्यपुस्तक बितरण, परीक्षा, तालिम र सरकारी सार्वजनिक बिदाहरु (गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, शहिद दिवस लगायत) अन्य राष्ट्रिय चाडपर्व बिदाहरु (ल्होछार, इद, क्रिसमस लगायत) स्थानीय पर्वहरु, भैपरि आउने आकस्मिक बिदा, अतिरिक्त कार्यक्रम आदिमा समय बित्ने हुँदा वास्तविक पढाइ हुने दिन वर्षको आधा भन्दा कम मात्र रहन्छ ।
मौसमी हिसाबले पठनपाठनका लागि सबैभन्दा उपयुक्त मौसम असोज–कात्र्तिक महिना नै हो । यति बेला हिमालदेखि तराईसम्म मौसम सफा हुन्छ । न गर्मी, न जाडो, न कामको उच्च चाप । तर यही बेला विद्यालयहरुले मौसमी बिदा समेत मिलाएर दशैं–तिहारको लामो बिदा घोषणा गर्नु शैक्षिक गुणस्तरप्रति जिम्मेवारी नहुनु हो ।
यसले विद्यालयको शैक्षिक गुणस्तरमा गहिरो असर पारेको छ । लामो विदाका कारण विद्यार्थीहरुको अध्ययन बानीमा नकारात्मक प्रभाव पार्दै गएको छ । लामो विदाले गर्दा बालबालिकामा पढ्ने र विद्यालय जाने लय हराउँछ । धेरै समय खाली हुँदा उनीहरु मोबाइल, इन्टरनेट, खेल वा अन्य कुलतमा फस्ने सम्भावना बढ्छ । खासगरी ग्रामीण क्षेत्रमा विद्यार्थीहरु खेतीपातीमा संलग्न हुने गर्छन् । यसले उनीहरुलाई व्यवहारिक कृषि सीप सिकाउने भए पनि औपचारिक अध्ययनबाट टाढा पुर्याउँछ, जसले उनीहरुको दीर्घकालीन शैक्षिक क्षमतामा असर पार्छ । शिक्षक र विद्यार्थी बीचको धुरी टाढा हुन्छ, भने शिक्षकलाई पनि पाठ्यक्रम पूरा गर्न कठिन पर्छ । शैक्षिक सत्रको अन्तयतिर औपचारिकता पूरा गरेर परीषा लिनुको बिकल्प हुँदैन ।

अर्कोतर्फ, चाडपर्व विदाको असन्तुलनले शिक्षामा वर्गीय विभेद पनि बढाएको छ । निजी विद्यालयहरुमा नियमित पढाइ भइरहँदा सरकारी विद्यालयका विद्यार्थीहरु पछाडि पर्छन् । यस्तो अवस्थामा शिक्षामा समान अवसरको अवधारणा कमजोर बनाउँछ । ग्रामीण र शहरी, निजी र सरकारीबीचको फरक अझ गहिरो बन्दै गएको छ ।
यस्ता समस्याबाट मुक्ति पाउन स्थानीय सरकार र शैक्षिक संस्थाहरुले विदा व्यवस्थापनमा सुधार गर्न अत्यावश्यक छ । कुनै पनि विद्यालय वा स्थानीय सरकारले चाडपर्व वा अन्य बिदा लगातार पाँच दिनभन्दा बढी विदा नलिनु उपयुक्त हुन्छ । (जस्तै : दशैं बिदा ५ दिन, तिहार बिदा ५ दिन, छठ बिदा ५ दिन, ईद, क्रिसमस ५ दिन) चाडपर्व , मौसमी अवरोध, खेतीपाती र स्थानीय परिस्थितिलाई मिलाएर छोटो–छोटो समयमा सन्तुलित विदा दिन सकिन्छ । यसले सबै समुदायको भावनाको कदर त गर्ने नै छ, विद्यार्थीलाई निरन्तर अध्ययनमा जोड्न मद्दत गर्छ । शिक्षा राष्ट्रको मेरुदण्ड हो । त्यो मेरुदण्ड बलियो बनाउन शिक्षक, विद्यार्थी र अभिभावक सबैले जिम्मेवारीपूर्वक योगदान दिनुपर्छ ।
शिक्षा पाठ्यपुस्तकमा सीमित ज्ञान होइन । यो देशको भविष्य निर्माण गर्ने आधार हो । त्यसैले चाडपर्व रमाइलो र शिक्षाको जिम्मेवारीबीच सन्तुलन कायम गर्न सके मात्र “गुणस्तरीय शिक्षा” भन्ने नारा वास्तवमा सार्थक हुनेछ । विद्यालय विदाको व्यवस्थापन वैज्ञानिक, व्यवहारिक र स्थानीय सन्दर्भअनुसार पुनर्गठन गर्न सके तब मात्र हाम्रो शिक्षा प्रणालीले आफ्नो वास्तविक गन्तव्य भेट्नेछ कि ?
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...