१४ असार २०७८, क्रान्ति लामा कोशीपारी अनलाइन/ काभ्रे – बृहत माओवादी एकीकरणको लागि विप्लब नेताहरु प्रचण्ड र भट्टराईको निवासमा भेटवार्तामा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा नेताहरु बीच भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न विप्लवका नेताहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदय चलाउने ‘दीपक’ खुमलटार पुगेका थिए । नेता बास्तोलाले बताएअनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । नेकपाले अगाडि सारेका मुद्दाहरु (जनमत संग्रह र वैज्ञानिक समाजवाद)का विषयमा प्रचण्डसँग कुराकानी भएको उनले बताएका छन् । प्रगतिशील संयुक्त सरकार गठनका विषयमा पनि छलफल चलेको बास्तोलाले बताए । ‘समसामयिक नेपाली राजनीति, विघटित अवस्थामा पुगेको संसदीय व्यवस्था र नेपाल कम्युनिष्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादलगायतका विषयहरुमा छलफल भयो’, बास्तोलाले भनेका छन् । यसअघि गत बुधबार विप्लवका नेताहरुले जसपाका नेता डा. बाबुराम भट्टराईलाई पनि उनकै निवासमा पुगेर भेटेका थिए । प्रतिबन्ध फुकुवा पछि पहिलो भेट सरकारले २०७७ फागुन २० मा विप्लव नेतृत्वको नेकपामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिबन्ध फुकुवासँगै सार्वजनिक भएका विप्लवले हालसम्म पूर्वमाओवादी समूहका शीर्ष नेताहरु प्रचण्ड र बाबुरामसँग भेटघाट गरेका छैनन् । साथै उनी नेतृत्वको नेकपाका नेताहरुले पनि भेटघाट तथा छलफल गरेका थिएनन् । विप्लवसहितका नेताहरुले सत्तारुढ एमालेका नेताहरुसँग पटक–पटक संवाद गरेको भएपनि प्रचण्ड र बाबुरामलाई भने वेवास्ता गर्दै आएका थिए । उनीहरुले माओवादी केन्द्र छोडी एमाले प्रवेश गरेका नेता रामबहादुर थापा ‘बादल’सहितका नेताहरुसँग भने पटक–पटक भेटघाट गर्दै राजनीतिक संवादसमेत गरेका थिए । संसद विघटनको मुद्दामा विपक्षी गठबन्धनले आन्दोलनको तयारी गरिरहेको अवस्था र माओवादी केन्द्रले पूर्वमाओवादीहरुसँग एकताको प्रस्ताव गरिरहेको बेला प्रचण्ड र विप्लवका नेताहरुबीच भएको भेटवार्तालाई भने अर्थपूर्णं रुपमा लिन सकिन्छ । विप्लवका नेताहरुले संसदीय व्यवस्थाको विकल्प खोज्ने कम्युनिष्ट शक्तिसँग सहकार्य हुनसक्ने कुरा पनि सार्वजनिक रुपमै बताउँदै आएका छन् ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...