२७ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दैछ ।
विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको छ । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित विश्वासको मत माग्ने छन् । प्रधानमन्त्रीले राखेको सो प्रस्तावमा छलफलका लागि समय निर्धारण गरिनेछ । दलीय आधारमा सांसदहरुले आफ्नो मत राख्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।
प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतको प्रस्तावउपर निर्णय प्रक्रिया शुरु हुनेछ । यो प्रस्तावलाई मतदानको प्रक्रियाबाट टुंगो लगाइनेछ । सांसदहरु आफ्नो हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुनेछन् । संसद सचिवालयको रजिष्टरमा हुन्छ, हुन्न र मत दिन्न तीन किसिमका कोलम बनाइएको छ । सांसदहरुले त्यही कोलममा हस्ताक्षर गरेर आफ्नो मत प्रकट गर्नेछन् । मतदानमा कोरोना संक्रमित सांसदहरुलाई पनि सहभागी गराइनेछ । उनीहरुलाई संसद भवन परिसरको छुट्टै टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको संख्या गणना हुनेछ । बहुमत पाएमा ओली प्रधानमन्त्रीमा कायमै रहने छन् । नपाए उनको विकल्पमा अर्को सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ । संसदमा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। आन्तरिक विवादमा फसेको एमालेका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा वा फ्लोर क्रस गर्न सक्ने आकलन पनि हुँदै आएको छ ।
यदि एमालेका सबै सांसदहरुले ओलीलाई मत दिए पनि सरकार टिकाउन चाहिने मत अपुग हुनेछ । किनभने ६१ सांसद रहेको कांग्रेस र ४९ सांसद रहेको नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरिसकेका छन् । अंकगणितको हिसाबमा सत्ता समीकरणमा निर्णायक मानिएको जसपाका हाल कायम ३२ सांसद छन् । जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।
संसदमा नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्र १/१ जना सांसद छन् । यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने संकेत देखिएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...