कोशीपारी अनलाइन संवाददाता
असोज २३, काठमाण्डौं
सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भ्रमण खर्चको शीर्षकमा आठ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।
तर सो खर्च कहाँ, कसका लागि र कुन प्रयोजनमा गरिएको भन्ने स्पष्ट विवरण नहुँदा उक्त रकमको प्रयोग विधिसम्मत नभएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार, गाउँपालिकाले वितरण गरेका कतिपय भ्रमण आदेशमा भ्रमणको उद्देश्य उल्लेख गरिएको छैन। भ्रमण खर्च पारदर्शी बनाउन र अभिलेखिकरण सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि पालिकामा भ्रमणसम्बन्धी अभिलेख खाता नै नरहेको उल्लेख छ ।
यसले गर्दा कुन जनप्रतिनिधि वा कर्मचारी कहिले, कहाँ र किन भ्रमणमा गए भन्ने एकीकृत विवरण सङ्कलन हुन सकेको छैन । त्यति मात्र होइन, भ्रमण सकिएपछि अनिवार्य रूपमा पेस गर्नुपर्ने भ्रमण प्रतिवेदनसमेत नपेस गराईकनै रकम भुक्तानी गरिएको पाइयो ।
स्थानीय तहका पदाधिकारी र सदस्यलाई पाउने सुविधा सम्बन्धी ऐन, २०७७ र भ्रमण खर्च नियमावली, २०६४ मा कुनै पनि भ्रमण खर्च गर्नुअघि स्पष्ट उद्देश्यसहित आदेश दिने, अभिलेख राख्ने र भ्रमणपछि प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।
तर कोडैना गाउँपालिकामा ती आधारभूत प्रक्रिया नै पालना नगरी रकम खर्च गरिएको देखिएको हो। महालेखाले यस्तो खर्चलाई पारदर्शिता र जवाफदेहिताको दृष्टिले गम्भीर कमजोरीका रूपमा लिएको छ ।
भ्रमणको नाममा विनायोजना र विनाप्रतिवेदन खर्च भइरहँदा गाउँका विकास योजनाहरू भने प्राथमिकताबाट ओझेलमा परेका छन्। आधारभूत पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका थुप्रै आवश्यकता अपूरा छन् । तर पालिकाको ठूलो ध्यान भ्रमण र भत्तामा केन्द्रित देखिनुले जनतामा असन्तोष बढाएको छ। स्थानीय बासिन्दाहरूले ‘गाउँ सुधार्ने भन्दा राजधानी पुग्ने लहड’ नै प्राथमिकता भएको टिप्पणी गरेका छन् ।
महालेखाको प्रतिवेदनमा अबदेखि कुनै पनि भ्रमण खर्च स्वीकृत गर्नुअघि स्पष्ट प्रयोजन उल्लेख गर्नुपर्ने, अभिलेख व्यवस्थित राख्नुपर्ने र प्रतिवेदन नपेस नगरिएमा भुक्तानी रोक्नुपर्ने सुझाव दिइएको छ । महालेखाको यो टिप्पणीले कोडैना गाउँपालिकाको प्रशासनिक जवाफदेहिता, बजेट अनुशासन र स्थानीय सरकारमा विश्वासको स्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...