२०८३ बैशाख १७
April 30, 2026, Thursday

कपिलवस्तुको तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

कपिलवस्तुको तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

कोशीपारी अनलाइन 
माघ २८, काठमाण्डौं

पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको डरहम विश्वविद्यालयको संयुक्त टोलीले उत्खननका क्रममा कपिलवस्तुको तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार भएको) बौद्ध मन्दिर फेला पारेको छ ।

विभागको विज्ञप्ति अनुसार प्राचीन तिलौराकोट नगरभित्र फेला परेको उक्त मन्दिर दक्षिण एशियामा प्रचलित अप्सिडल शैलीको स्पष्ट उदाहरण हो। यस प्रकारका मन्दिरमा पछाडिको भाग अर्धवृत्ताकार हुन्छ र अगाडितर्फ प्रवेश मञ्च रहने विशेषता हुन्छ । प्रारम्भिक उदाहरणहरू चट्टान काटेर बनाइए पनि पछि ढुंगा, काठ वा इँटाबाट निर्माण गर्ने परम्परा विकास भएको पाइन्छ ।

उत्खननमा फेला परेको संरचना नगरको केन्द्र नजिकै अवस्थित छ । यो संरचना करिब १०० मिटर लम्बाइ र १०० मिटर चौडाइ क्षेत्रफल ओगटेको पुरानो दरबार परिसरको अवशेषमाथि निर्माण गरिएको देखिन्छ । जसलाई १.५ मिटर चौडाइको विशाल इँटाको पर्खालले घेरेको थियो । दरबार परिसर परित्याग भएपछि उक्त क्षेत्र धार्मिक गतिविधिको केन्द्रका रूपमा विकसित भएको र पछि त्यही परिसरभित्र बौद्ध विहार तथा अप्सिडल मन्दिर निर्माण गरिएको अनुसन्धान टोलीले जनाएको छ ।

पुरातात्त्विक उत्खननमा प्रशस्त दीपक (दीयो) भेटिनुले उक्त स्थल लामो समयसम्म तीर्थयात्री तथा श्रद्धालुहरूको पूजा–आराधनाको केन्द्र रहेको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । पछि मन्दिर र विहारलाई इँटाको पिचिङ गरिएको उचाइयुक्त मञ्चमुनि योजनाबद्ध रूपमा सुरक्षित गरिएको देखिन्छ । उन्नाइसौं शताब्दीमा भारतीय पुरातत्वविद् पी.सी. मुखर्जीले सर्वेक्षण गर्दा यस क्षेत्रलाई ‘देवा टेम्पल’ भनेर उल्लेख गरेका थिए ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपालमा पहिलोपटक अप्सिडल बौद्ध मन्दिर फेला पार्नु ऐतिहासिक उपलब्धि भएको बताउँदै यसले देशको बौद्ध सम्पदाबारे नयाँ प्रकाश पारेको उल्लेख गरे । विभागका पूर्वमहानिर्देशक तथा उत्खनन सह–निर्देशक कोशप्रसाद आचार्यले यस खोजले उक्त स्थलमा बौद्ध आस्थाको महत्व झल्काएको बताए ।

डरहम विश्वविद्यालयका प्राध्यापक तथा उत्खनन सह–निर्देशक रोबिन कोनिङ्घमले तिलौराकोट–कपिलवस्तु दक्षिण एशियाको प्राचीन बौद्ध तीर्थमार्गमा महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै यस खोजले क्षेत्रको ऐतिहासिक महत्व थप पुष्टि गरेको बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठका अनुसार उत्खननबाट प्राप्त सामग्रीले यो स्थल दीर्घकालीन धार्मिक केन्द्रका रूपमा रहेको प्रमाणित गरेको छ ।

अनुसन्धान टोलीले वैज्ञानिक परीक्षणका लागि नमूना संकलन गरिसकेको जनाएको छ । यसबाट दक्षिण एशियामा अप्सिडल मन्दिरको काल निर्धारणसम्बन्धी महत्वपूर्ण तथ्य प्राप्त हुने अपेक्षा गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP