कोशीपारी अनलाइन संवाददाता
असोज २९, काठमाण्डौं
यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जेरी अन टप’ ले आज राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मका बारेमा जानकारी दिएको छ । कार्यक्रममा कलाकारहरूले फिल्मप्रति दर्शकको साथ र मायाको अपेक्षा व्यक्त गरेका छन् ।
फिल्मका प्रमुख अभिनेता अनमोल केसीले स्वास्थ्य समस्या भएका कारण प्रचारप्रसारमा सक्रिय हुन नसकेको स्पष्ट पार्दै फिल्मलाई दर्शकले साथ दिने विश्वास व्यक्त गरे ।
‘यो मेरो अन्तिम फिल्म होइन, आगामी दिनमा पनि नयाँ फिल्ममार्फत दर्शकमाझ आउनेछु,’ अनमोलले भने, ‘म बिरामी भएकाले फिल्मबारे खुलेर भन्न सकिरहेको थिइनँ । अब भने बुकिङ खुलिसकेको छ, शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ । तपाईंहरूको मायाले यस फिल्मलाई उज्यालो दिनेछ भन्ने अपेक्षा राखेको छु ।’
फिल्मकी मुख्य नायिका आँचल शर्माले फिल्म निर्माणमा सम्पूर्ण टिमले निकै मेहनत गरेको उल्लेख गर्दै दर्शकको साथ पाउनेमा आफू विश्वस्त रहेको बताइन् ।
‘हाम्रो टिमको कडा मेहनतको प्रतिफल हो ‘जेरी अन टप’। हामीले जुनसुकै काम गर्दा पनि पूरा समर्पणका साथ गर्छौं । यो फिल्म पनि दर्शकले मन पराउनुहुनेछ भन्ने आशा छ,’ उनले भनिन् ।
त्यस्तै अर्की नायिका जसिता गुरुङले पनि फिल्मको बुकिङ खुलिसकेको जानकारी दिँदै दर्शकलाई हलमा आएर हेर्न आग्रह गरिन् ।
‘अब दर्शकको साथ र मायाको आवश्यकता छ । हामी सबैले मेहनत गरेका छौं, तपाईंहरूले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भनिन् ।
‘जेरी अन टप’ शुक्रबार अर्थात् असोज ३१ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । फिल्मप्रति दर्शकमा उच्च उत्साह देखिएको निर्माण पक्षको दाबी छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...