२०८२ मंसिर २४
December 10, 2025, Wednesday

कोशी प्रदेशको मन्त्री–सचिव बीचको विवाद सतहमाः गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव

कोशी प्रदेशको मन्त्री–सचिव बीचको विवाद सतहमाः गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव

कोशीपारी अनलाइन संवाददाता
भदौ १७, काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ ।
मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँगै कर्मचारी वृत्तमा पनि ठूलो तरङ्ग ल्याएको हो ।
सचिव पाण्डे निकट स्रोतका अनुसार मन्त्री हाङ्गामले कार्यालयमा आफ्ना मान्छे नियुक्त गर्न, सचिवालयका कर्मचारीको भत्ता तत्काल भुक्तानी गर्न र नीति निर्माणमा हस्तक्षेप गर्ने जस्ता दबाब दिँदै आएका थिए । तर, सचिवले अस्वीकार गरेपछि सम्बन्ध चिसिएको हो ।
पाण्डेले स्वयं पनि गाडीको चाबी खोसिएको पुष्टि गर्दै भने, “म र उहाँबिच व्यक्तिगत विवाद छैन, तर किन यस्तो गर्नुभयो भन्ने बुझ्न सकिएन ।” सचिव पक्षले यसलाई मन्त्रीको अनुशासनहीनता र ‘दादागिरी’को उदाहरण भन्दै आलोचना गरेको छ ।
तर, मन्त्री हाङ्गाम निकट स्रोतका अनुसार सचिव पाण्डे जहाँ गए पनि विवादमा पर्ने गरेका छन् । मन्त्री पक्षले पाण्डेमाथि राजनीतिक दबाबमा सरुवा बदर गर्ने, गुटबन्दी गर्ने र मन्त्रालयका काम–काज अवरुद्ध गर्ने आरोप लगाएको छ । सचिवका कारण किसानका लागि ल्याइएका व्याज अनुदान कार्यक्रम, बजेट खर्च र ‘खोरेत रोगमुक्त अभियान’ समेत प्रभावित भएको मन्त्री पक्षले बताएको छ ।
मन्त्री हाङ्गामले समेत भनेका छन्,“एक पटक सरुवा भइसकेको सचिवलाई फेरि फर्काइन्छ भने म त्यस्तो सचिवसँग बसेर काम गर्न सक्दिनँ ।”
कर्मचारी संगठनको आपत्ति
यस घटनाले कर्मचारी वृत्तमा ठूलो प्रतिक्रिया ल्याएको छ । नेपाल निजामती कर्मचारी संगठन, कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै मन्त्री हाङ्गामको व्यवहारलाई ‘अमर्यादित, अपमानित तथा अत्यन्त घृणित’ भन्दै कडा शब्दमा भत्र्सना गरेको छ ।
संगठनका अध्यक्ष हरि प्रसाद सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्रीबाट गरिएको अमर्यादित व्यवहारले कर्मचारीको मनोबलमा ह्रास आउने मात्र नभई कार्यस्थलमा सुरक्षित वातावरणको प्रत्याभूति समेत सङ्कटमा परेको छ ।”
संगठनले मन्त्रीलाई तत्काल सार्वजनिक रूपमा क्षमा याचना गर्न र भविष्यमा यस्ता घटना नदोहोर्‍याउन माग गरेको छ । साथै दोषीमाथि आवश्यक कारबाही गर्दै प्रदेशका सम्पूर्ण निकायमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


विवादरहित छैनन् मन्त्री र सचिव
यसअघि पनि मन्त्री हाङ्गाम र सचिव पाण्डे दुवै जना विवादरहित पात्र भने होइनन् । बजेट निर्माणमा ‘बाइपास’ गरेको भन्दै धम्की दिनेदेखि लिएर आफ्नै जिल्ला ताप्लेजुगंमा स्थानीय नेता र प्रहरीका कर्मचारीलाई समेत कुटपिट गरेको सम्मका घटनाले उनलाई आलोचनामा राखेको छ । मन्त्री हुनु अघि उनले तत्कालीन प्रहरी प्रमुख डीएसपी (हाल एसपी) राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की समेत दिएका थिए ।
अर्कोतर्फ, सचिव पाण्डे पनि जहाँ गएका पनि विवादमा तानिने गरेका छन् । बागमती प्रदेशमा रहँदा पाण्डे सरकारी गाडीको दुरुपयोग गर्दै मुस्ताङ पुगेका थिए । मन्त्रालयमा आफू चढ्ने गाडी लिएर परिवार सहित पाण्डे मुस्ताङमा घुम्न पुगेको घटनाले समेत उनलाई विवादमा तानेको थियो । कोशी प्रदेशमा मन्त्री र सचिवको टकराबले सेवाग्राही भने समस्यामा परेका छन् ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP