२०८२ फाल्गुन २५
March 9, 2026, Monday

प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्ता छन् कार्यक्रम

प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्ता छन् कार्यक्रम

कोशीपारी अनलाइन, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ सम्म चीनको ५ दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले चीनको थियानजिन शहरमा आयोजना हुने सांघाइ सहयोग संगठन (सांघाइ कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनको लागि चीन जान लागेको जानकारी गराएका हुन् ।

नेपालको प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं यसमार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबद्र्धन गर्नु रहेको पनि उनको भनाइ छ ।

भ्रमण दलमा राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।

ओलीले भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट गर्ने कार्यक्रम रहेको छ । साथै, बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति हान चङ्गसँग र चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यसपछि २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने, सम्मेलनका दौरान विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका पनि रहेको छ ।

हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा.मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ ।

अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते (तदनुसार २०२५ सेप्टेम्बर ३) चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ ।

चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने छन् ।

सांघाइ सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ ।

चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् ।

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP