भक्तपुर, असार १० — भक्तपुरको बोडेमा अवस्थित ड्रुक धर्म चक्र गुम्बामा आयोजित १५ दिने ड्रुक्पा सङ्घ प्रशिक्षण कार्यक्रम आज एक समापन समारोहका साथ सम्पन्न भएको छ। गत असार २६ गतेदेखि सञ्चालनमा आएको उक्त कार्यक्रम ड्रुक पेकर नेपाल (Druk Peker Nepal) को आयोजनामा र योङ्ग ड्रुक्पा एशोसिएसनको सहयोगमा सम्पन्न भएको हो।
प्रशिक्षण कार्यक्रममा देचोक, छ्योगा, छ्यालेन, रोल्मो, ढ्याङ्रो, च्योद र घ्यालिङ लगायतका विषयहरूमा सहभागी प्रशिक्षार्थीहरूलाई गहन अभ्यासमूलक प्रशिक्षण दिइएको थियो। कार्यक्रममा ड्रुक्पा परम्पराको अनुकरण गर्दै आएका लामा गुरुहरू तथा सङ्घ सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन समारोहको अवसरमा ड्रुक्पा नेपालका उपाध्यक्ष जिग्मे रब्तेनले दार्जिलिङबाट पधारी प्रशिक्षण दिएका समदुप गुरुङलाई धन्यवादसहित बिदाई गर्नुभयो। त्यसैगरी, कार्यक्रमको सफल सञ्चालनमा निःस्वार्थ भावले सहयोग पुर्याउने सम्पूर्ण सहयोगी महानुभावहरूलाई ड्रुक्पा नेपालका महासचिव विक्रम लामा तथा लोपेन ङावङ फुन्जोकले खादा अर्पण गरी कृतज्ञता प्रकट गर्नुभयो।