२०८३ बैशाख ९
April 22, 2026, Wednesday

घुमको परिचय,लोपोन्मुख छाताः “घुम देखि गुम्पटी सम्म”

घुमको परिचय,लोपोन्मुख छाताः “घुम देखि गुम्पटी सम्म”

पूर्वको शैलुङ जाने बाटोमा “गुम्पटी” भन्ने एउटा सानो बजार पर्छ । यस बजारको नाम “गुम्पटी” किन रह्यो भन्ने जिज्ञाशामा, बुझ्दा थाहा हुन्छ, यो बाटो पुरानो पदमार्ग हो । त्यतिबेला पदयात्रामा हिँड्ने बटुवाहरूलाई बास बस्न कठिन हुने भएकाले, भोर्लाको पातले छाएको एउटा सानो विश्रामस्थल पाटी निर्माण गरिएको रहेछ । यही पाटीलाई स्थानीय भाषामा “गुम्पटी” भनियो, र पछि यही नाम बजारकै नामका रूपमा बस्यो ।
तर, तामाङ समुदायका मानिसहरू आज पनि यस स्थानलाई “घुमपाटी” नै भन्छन् । “गुम्पटी” शब्दको खास अर्थ नखुले पनि, तामाङहरूले प्रयोग गर्ने “घुमपाटी” शब्दले स्थाननामको परिचय र इतिहास सहजै स्पष्ट गर्छ । त्यसैले “घुम” भन्ने शब्द तामाङ भाषाबाट आएको हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ । अर्थात्, यो “गुम” होइन, “घुम” हो । अब प्रश्न उठ्छ “घुम” भनेको के हो? लोपोन्मुख बन्दै गएको “घुम” सँग सम्बन्धित ज्ञान, पछिल्लो पुस्ताले सायद नबुझ्न सक्ला । तर, पुराना पुस्ताहरूलाई “घुम” के हो भन्ने राम्रो ज्ञान छ । घुम के हो? यो कसरी बनाइन्छ? यसको प्रयोजन के हो? अब हामी यसबारे संक्षिप्तमा जानौँ ।

घुमको परिचय
“घुम” तामाङ समुदायको मौलिक सिर्जना हो । हिमाली भेगमा तामाङ,शेर्पा,गुरुङ र भोटेहरुले प्रयोग गर्ने भेडाको ऊन,चौरीको छालाबाट तयार पारिने ओढो नै घुम हो । घुम शब्द कसरी रह्यो भन्ने जिज्ञाशामा खोजकर्ता जीवन कुमार योञ्जन भन्नुहुन्छ “हाम्रो शरीरको पछिल्लो भागलाई तामाङले घो भन्छन् । यही भाग पानी,हिउँ र चिसोबाट जोगाउने साधनलाई घुम भनेका हुन् । घुम शब्द घोसँग सम्बन्धित छ ।” हिमालमा ऊन र छालाबाट तयार पारिने घुम ठाउँ बिशेश बेशीमा बास वा निङगालो र भोर्लाेको पातबाट तयार भयो ।
पहाड र तराईमा घुम चोयाले बुनेको, दुईवटा चित्राभित्र बीचमा भोर्लाको पातले छापिएको, लाम्चो चारकुने र दुई पाखे ओढो हो । बर्खाको समयमा गाउँघरमा घुम ओढेर मेलापात जानु सामान्य प्रचलन थियो । तर अहिले त्यो स्थान छाता, रयाङकोट वा प्लास्टिकले लिएको छ । मेलापात जाँदा वा हाटबजारतिर जाँदा घुम ओढेर हिँड्ने चलन अब छैन ।
शायद अब कतैकतै म्युजियममा मात्र घुम भेटिन सक्छ । तर बर्खा लाग्दा अहिलेको पुस्ताले पनि कहिलेकाहीं घुम सम्झिनु स्वाभाविक हो ।

घुम बनाउने तरिकाः
घुम विभिन्न साइजमा बनाउन सकिन्छ । घुम बनाउन चोया आउने बास वा निङगालो आवश्यक पर्छ । बासलाई राम्रोसँग खुर्केर फुटाएर कप्टेरा बनाइन्छ र त्यसबाट चोया निकालिन्छ । निकालिएको चोया एक–दुई दिन घाममा सुकाएर वा सिधै काड्दै बुन्दै गर्दा पनि प्रयोग गर्न सकिन्छ ।

चोया तयार भएपछि त्यसलाई बुनेर घुमको चित्रा तयार पारिन्छ । चित्रा बनेपछि, लहरे भोर्लाको प्वाल नपरेको राम्रो पात छानेर राम्ररी छापिन्छ । पातले मोरिसकेपछि, घुम दोब्बर पारेर सिउनु पर्छ । भित्र पट्टि टाउको अडाउने डोरी राखिन्छ, अनि मात्र घुम तयार हुन्छ । सामान्यतया, घुमको परिचय र बनाउने तरिका यही हो ।

घुम,बर्षा र असार
घुमको नाम लिने बित्तिकै बर्षायामको संकेत मिल्छ । जेष्ठ महिनाको अन्त्यतिर गाउँघरमा बाँझो खेत पल्टाउने काम सुरु हुन्छ । यससँगै, भदौको अन्त्यदेखि थन्क्याएर राखिएको “घुम” को अवस्था कस्तो छ भन्ने कुरा हेर्न थालिन्छ ।
असारमा प्रयोग हुने औजारहरू,जस्तै हलो,जुवा कोदालो,कोदाली, गैंती, डोको, नाम्लो,आदि,कसको अवस्था ठीक छ, कसको छैन भनेर जाँचिन्छ । जुन सामग्री ठीकठाक छन्, तिनै प्रयोग गरिन्छन् बिग्रिएका छन् भने नयाँ किन्ने वा बनाउने तयारी हुन्छ । ती सामग्रीहरूमध्ये “घुम” पनि एक हो, जुन असार महिनाको लागि अनिवार्य वस्तु जस्तै मानिन्छ ।
हरेक किसानको घरको बैइगलमा थन्क्याएर राखिएको घुमलाई खोज्दै किसान हतारिन्छन् । असार सुरु भएको संकेत हो त्यो,पुरानो घुमको याद, र त्यसलाई चलाउने तयारी । यसले पानी मात्र ओत्ने मात्र होइन, घाम लाग्दा पनि सितलता प्रदान गर्छ । हावा चलेको बेलामा पनि घुम सजिलै ओढ्न सकिन्छ, सानोतिनो असिना पातमा समेत घुम उपयोगी हुन्छ ।
असारमा रोपाइँ गर्दा, घाँस काट्दा, बजार जाँदा वा गोठालो जाँदा घुम ओढ्ने चलन परापूर्वकालदेखि रहिआएको थियो । घुमको उपयोग वर्षात सकिएपछि मात्र रोकिन्छ, अनि घुमलाई फोल्ड (पट्याएर) गरेर सुरक्षित रूपमा राखिन्छ ।
घुमले वर्षा र घामबाट किसानलाई जोगाउँछ । खेतमै खाएर बस्नुपर्ने समय आउँदा, खानेकुरा छोपेर राख्न पनि घुमको प्रयोग गरिन्छ । त्यसैले किसानका लागि घुम ओढ्ने वस्तु मात्र होइन, खेतीपातीको अनिवार्य साथीसँग पनि जोडिएको हुन्थ्यो ।

असार सुरु भएपछि, किसान घरको पुरानो घुमलाई तानतुन (मर्मत) गरेर मिल्छ भने मिलाउँछन्, मिल्दैन भने नयाँ घुम किन्ने पर्खाइमा बस्छन् । “कहिले हाटबजार आउने, कहिले घुम बेच्न ल्याउने होला?” भन्ने अपेक्षामा हुन्छन् ।
त्यो समय हाटबजारदेखि गाउँ–गाउँ डुलेर घुम बेच्नेहरू पनि प्रशस्तै पाइन्थे । पुरानो घुम मिल्दैन भने, नयाँ घुम किन्ने आशामा किसानहरू उनीहरू कुरेर बस्ने गर्थे ।

भोर्लो:
घुमको परिचय र उपयोग संगै यसमा प्रयोग हुने भोर्ला पातको परिचय पनि पर्ला । भोर्लाको पातलाई तामाङ भाषामा “घुम ल्हाप्ते” भनिन्छ । भोर्लाे खस नेपाली शब्द हो । भोर्लाे नेपालीहरूले चिनेकै, बुझेको एक बहुउपयोगी लहरे वनस्पति हो । यो गर्मी क्षेत्रमा फस्टाउने र लहरो प्रजातिमा पर्ने वनस्पति भएता पनि पहाडमा पनि पाईन्छ । भोर्लाे टाढा टाढा सम्म लहरो जाने भएकालेले यसले रुखको थाक्रो (टेको) मन पराउँछ । भोर्लो पहाड देखि तराईका घना जंगलसम्म पाइन्छ । यसको लहरो लामो हुन्छ । भोर्लोको बसन्त याम चैत–बैशाखतिर पात फेर्छ ।
यसको पात टपरी गास्न, घरको छानो छाउन, घुम बनाउन आदि कार्यमा प्रयोग गरिन्छ । भोर्लोको लहरो मजबुत हुने भएकाले नाम्ला, दाम्ला वा डोरी बनाउन पनि उपयोगी हुन्छ ।
त्यस्तै, यसको घाँस गाई–बाख्रालाई खुवाउन सकिन्छ । अझ विशेष कुरा के छ भने भोर्लोको लहराभित्र रेशा हुने भएकाले त्यसलाई परिष्कृत (चभाष्लभम) गरेर कपडा वा झोला बनाउन समेत प्रयोग गर्न सकिन्छ ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार ९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP