२०८२ कार्तिक २३
November 9, 2025, Sunday

संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको छ : प्रभु साह

संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नाराबाजी गरिरहँदा पनि संसद् चलाउनु विभेद भएको टिप्पणी गरेका छन् । संसद्मा भईरहेको विभेदको बारेमा समेत उनले कडारुपमा आवाज उठाए ।

प्रतिनिधिसभाको आज (आईतबार) नाराबाजीका बीचमा सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेको भुमिका माथि समेत उनले प्रश्न उठाए । नाराबाजीका बीचमा बैठक सञ्चालन भएकोमा बजेटको बारेमा प्रभावकारी छलफल गर्न नसकिएको बताउदै उनले आफ्नो कुरा राख्दैगर्दा साह र सभामुखका बीचमा नोकझोकको अवस्था समेत आयो ।

रास्वपाका सांसदले वेल घेराउ गर्दा पनि होहल्लाका बीचमा विभेदपूर्ण तरिकाले सभामुखले बैठक अगाडी बढाएको साहले भन्दै गर्दा वेल घेराउ गरिरहेका रास्वपा सांसदले तालि पिटेर स्वागत गरे । तर सभामुख घिमिरेले सांसद साहलाई बिषय केन्द्रित हुन भन्दै गर्दा बजेटको बारेमा छलफल गर्ने वातावरण नै नभएको जवाफ साहले फर्काए ।

‘सम्माननीय सभामुख महोदय, यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद् अवरुद्ध हुने, संसद् स्थगित हुने अनि अर्को पार्टीले वेलमै नाराबाजी गरिराख्दा संसद् अवरुद्ध नहुने ? यो कस्तो विभेद हो भनेर म जान्न चाहन्छु । सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ । आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘म दुःखी पनि छु । सबैको साझा हुनुपर्छ । संसद्को चौथो र पाँचौ ठूलो दलले संसदमा विरोध गरिराख्दा आज सभामुखले जसरी यो व्यवहार गरिराख्नुभएको छ, पहिलापनि संसदमा नाराबाजी हुँदा संसद् चल्दथ्यो । तर छोटो समयको लागि मात्रै चल्दथ्यो । आज एउटा नयाँ रेकर्ड कायम भयो । त्यसका लागि म शुभकामना दिन चाहन्छु ।’

उनले दुई तिहाईको शक्तिशाली सरकारले संसद्लाई शान्त बनाउन नसकेकोमा आलोचना गरे । उनले भने, ‘दुई तिहाई भनेको त संख्या मात्रै होइन होला नि, दुई तिहाई भनेको अंक हो कि परीणाम हो ? आज सबभन्दा शक्तिशाली सरकार भन्ने अनि संसद्को यस्तो वातावरण (होहल्ला)मा छलफल गर्नुपर्ने ? यो भन्दा दुःखदायी अरु के होला ?’

उनले सभामुखलाई संवेदनशिलता छ भने अलिकति चिन्ता लिन आग्रह गरे । उनले प्रश्न गरे, ‘के यो संसद् सहज हुनै नसक्ने हो ? के यस्तै चलिराख्छ ?’ उनले संसद्को आजको गतिविधि र दृश्य हेरेर भोजपुरीको कहावत ‘हडबडीके विवाह, कनपट्टीमे सिन्दुर’ सुनाए । उनले अहिले देखिएको सबै काण्डको पछि दुई तिहाईको सरकार रहेको आरोप लगाए ।

उनले भने, ‘यो अपवित्र गठबन्धन बनेदेखि नै देशले दुःख पाईरहेको छ । बाहिर हेर्दा एउटै देखिन्छ तर भित्र यो गठबन्धनमा अनेक खालका बखेडा हामीले हेरिरहेका छौं ।’ उनले अख्तियारले भिजिट भिसा प्रकरणमा गरिरहेको अनुसन्धान किन मिडियामा बाहिरियो ? भनेर प्रश्न गरे ।

सांसद साहले विरोध र वेल घेराउबीच सदन चलाएकोमा सभामुख घिमिरेको भूमिकाको खुलेर आलोचना गरे । सभामुख घिमिरेले सो क्रममा साहलाई विषयकेन्द्रित कुरा राख्न निर्देशन दिएका थिए । जवाफममा साहले बजेटको विषयमा बोल्नको लागि आफू छलफलमा भाग लिएको भएपनि बोल्ने वातावरण नभएको बताए । साहले अहिलेको बजेट बिचौलियालाई खुशी बनाउनको लागि ल्याईएका गम्भीर आरोप लगाए ।

उनले भने, ‘अहिलेको यो बजेट बिचौलियालाई खुसी बनाउने खालको छ । बिचौलियाले उत्सव मनाइरहेको छ । नेताहरूको घर–घरमा भोजभतेर गर्दै हिडेँको छन् । नेपाली जनता चिन्तित छन् । नेपाली जनता निराश छन् । यो बजेट कसको लागि आएको हो ? सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेलमा पार्न संसद्को छलफललाई दुषित गरिरहेको त छैन भन्ने प्रश्न आएको छ ।’

आजपा अध्यक्ष साहले यो बजेट जनताको पक्षमा नभएको र बिचौलियाको पक्षमा भएको कारण बजेटमाथिको छलफललाई प्रभावित पार्नको लागि संसद्को वातावरण धमिल्याईएको आरोप लगाए ।

साहले अहिलेको सरकारले देशलाई उजाड बनाएको आरोप लगाए । उनले भने, ‘नेपालबाट पैसा विदेश लैजान सहज हुने गरी सरकारले बजेट ल्याएको छ । विदेशमा थुपारिएको कालो धन ल्याउनुपर्नेमा उल्टै यहाँबाट पैसा विदेश लैजान भूमिका खेलेको छ । यो बजेटले नेपालको प्राकृतिक स्रोतको दुरुपयोग गर्नेछ । बजेटमाथि अनेकन प्रश्न उठ्न सक्ने भएकाले संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको आरोप उनले लगाए ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ असार १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ असार १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ असार १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP