काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ। प्रहरीको कारबाहीमा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन् भने दुई प्रहरी पनि घाइते भएका छन् । प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा गएको टोलीले मंगलबार लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका कारोबारीहरूको साथबाट प्रहरीले १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको जानकारी दिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो।  टोखास्थित ग्राण्डी अस्पताल पछाडि दुई जना खैरो हेरोइन बिक्री गर्न लागेको सूचना पाएको थियो। टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको एसएसपी कोइरालाले बताए । सुरुमा प्रहरीले चार राउन्ड हवाई फायर गर्दै उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर पनि उनीहरू फरार भएको प्रहरीले बताएको छ । त्यसपछि प्रहरीले घुँडामुनि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएका दुई जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको छ । दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।