कोशीपारी अनलाइन , काभ्रे| हुन त बसाइँ सर्ने कुरा कुनै नौलो होइन । हजाराैं बर्ष देखि मानिस हिडिरहेकै छन्। मङ्गोलिया र गोबी मरुभूमि पार गर्दै चीन, तिब्बत र हिमश्रृखलाहरु छिचोल्दै विभिन्न समयमा मङ्गोल जातिहरूकाे नेपालमा आगमन भयाे । पुरातत्वविद जनकलाल शर्माकाे पुस्तक “हाम्रो समाज एक अध्ययन” मा उल्लेख भएअनुसार बुढानिलकण्ठको बानियाँ गाँउ र पण्डित गाँउका बीच धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्ष पुरानो भएको दावी छ । प्राप्त ढुङ्गाका हतियारहरू मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय पर्वत हुँदै काठमाडौँ सम्म लिएर आएकाे भन्ने छ। युरोप, अफ्रिका ककेसिय पहाड हुँदै नेपालसम्म खस,आर्यहरू पनि भित्रिएयाे भन्ने कुरा समाजशास्त्रीहरू बताउँछन्।

कुनै समय यस्तो थियो, जब पहाडबाट तराई झर्नेहरूको ताँती नै लाग्दथ्यो। झापा, चितवनदेखि कञ्चनपुरसम्मका भूभागहरूमा सम्भावनाको खोजी गर्दै मानिसहरू दैनिकरूपमा पुग्थे। त्यहीँ समय, चितवनका जेबी टुहुरेले गाएका थिए “बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौंको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ!” गीतले आज पाँच दशक नाघिसकेको छ, तर नेपालीको नियति अझै उस्तै छ। जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरण अनुसार नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए।
मानिसहरूको बसोबास हुने ५४ लाख १६ हजार घरहरूमध्ये पाँच लाखजति खाली पाइएका हुन्। रिक्त घरहरू ‘मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको छ । मानिस बसाेबास रहेकाे घरमा पनि बृद्धअबश्थाका बुढा बुढी र केही स्कुलले केटाकेटी मात्रै छन्। कतै तालामा खिया लागेको छ, कतै घर जिर्ण जिर्ण अवस्थामा पुगेका छन्। अब प्रश्न उठ्छ: के ती खिया लागेको तालाहरू भोलि फेरी खुल्नेछन् त ? के हामी ती घरहरू फर्केर पुनः बास बस्नेछौं? यी यथार्थ प्रश्न हुन्।

गाउँ खाली हुनुका मुख्य कारणहरू:
१) शिक्षा र आकांक्षाको वृद्धि:शिक्षित जनसंख्या बढेपछि जीवनस्तर माथि उठाउने चाहना पनि बढ्यो। गाउँमा त्यो स्तर प्राप्त गर्न कठिन भयो।
२) निजीकरण र रोजगारीकाे संकट:राज्य स्वामित्वका कलकारखाना उदारीकरण पछि निजीकरणको नाममा बन्द भए। हजारौंले जागिर गुमाए। वैकल्पिक रोजगारीका विकल्पहरू नहुँदा पहाडका मानिस सहर र विदेश जान बाध्य भए।
३) अवसरको अभाव:सिमित स्रोत साधनको उपयोग हुन नसक्दा,उचित मूल्य नपाउदा, कृषि, घरेलु उद्योग वा साना उद्यमले मानिसलाई गाउँमै रोक्न सकेन।
४) वैदेशिक रोजगारी:घरको सक्रिय उमेर समूहको जनसंख्या वैदेशिक रोजगारीमा गयो। बाँकी वृद्ध र केटाकेटीलाई टिक्न हम्मे-हम्मे भयो।
५) शहरीकरणको आकर्षण:शिक्षा, स्वास्थ्य, बजार र सहज जीवनका लागि मानिसहरू गाउँबाट सहर सरे। गाउँको जनसंख्या घट्दै गयो।
६) राज्यको उपेक्षा:प्रदेश र स्थानीय तहहरू बलिया हुन नसक्दा सेवा, पूर्वाधार र अवसरको विकास सम्भव भएन।
७) उत्पादकत्वको गिरावट:प्राध्यापक योगेन्द्रबहादुर गुरुङका अनुसार “गाउँ रित्तिनुको मुख्य सम्बन्ध उत्पादनशक्तिसँग हो।
जब उत्पादन गर्न सक्ने जनशक्ति र अवसर हराउँछ, गाउँमा बसोबासको आधार सकिन्छ।”
समाधानका उपायहरू:
१) अवसर सिर्जना र सेवा सुविधा:मानिसलाई गाउँमै रोक्नको लागि त्यहाँ पर्याप्त अवसर र आधारभूत सेवा-सुविधा आवश्यक छ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार आदि आदि ।
२) स्थानीय सरकारको सशक्तीकरण:स्थानीय र प्रदेश तहलाई कार्यक्षमता सम्पन्न र अधिकारयुक्त बनाउनुपर्छ, जसले रोजगारी र सेवा दुवै प्रवाह गर्न सक्छ।
३) एकीकृत बस्ती र पूर्वाधार:सरकारले सेवा सुविधा सहितको एकीकृत बस्तीको अवधारणामा लगानी गर्नुपर्छ, जसले कम लागतमा धेरै सुविधा दिन सक्छ।
४) पर्यटन र सम्पदाको उपयोग:पहाडको प्राकृतिक र सांस्कृतिक,धार्मिक सम्पदालाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्न सकिन्छ। होमस्टे, पदयात्रा मार्ग, सांस्कृतिक पर्यटन आदिमा पर्याप्त लगानी हुनुपर्छ।
५) घरेलु उद्योग र साना उद्यम:स्थानीय उत्पादनलाई बढावा दिँदै अचार उद्योग,देखि गार्मेन्ट, हस्तकलालगायतका उद्योग सम्म लगानी गर्न सकिन्छ।
६) कृषिमा आधुनिकता : हाम्रो कृषि अझै पनि परम्परागत प्रविधिमा आधारित छ।
भूमिको खण्डकरण र निजित्वका कारण उत्पादनशिलता घटेकाे छ। जसमा धेरै जनशक्ति खर्च भए पनि उचित प्रतिफल प्राप्त हुन सक्दैन। राज्यले भूमिअधिकार सम्बन्धी स्पष्ट र दीर्घकालीन नीति बनाई, सिँचाइ, बीउबिजन, आधुनिक कृषि उपकरण तथा बजार व्यवस्थापनमा लगानी गर्दै कृषि उत्पादनलाई प्राथमिकता दिनु आवश्यक छ।
निष्कर्ष: नेपालको गाउँ घर खाली हुदै जानुमा भौगोलिक स्थानान्तरणको कुरा मात्र होइन, यो आर्थिक, सामाजिक, राजनीतिक र संरचनागत समस्याको प्रतिफल पनि हो। शिक्षा, रोजगारी, सेवा-सुविधा र अवसरको खोजीमा मानिसहरू गाउँ छोड्दै सहर र विदेशतर्फ आकर्षित भइरहेका छन्। यदि तत्काल ठोस नीति, सशक्त स्थानीय शासन, आधुनिक कृषि प्रविधि, उद्योग–व्यवसायको विस्तार, पर्यटन प्रवर्द्धन र आधारभूत सेवा,सुविधाको पहुँच सुनिश्चित गरिएन भने गाउँको रित्तोपन अझ गहिरिनेछ। जहाँ रोजगारीको सम्भावना हुन्छ, त्यहीँ बस्ती बस्छ। ५५०० फिट उचाइकाे सगरमाथाकाे फेदी देङ्बाेचेमा होटल छ। मानव बस्ती पनि छ । नदिकाे किनार,भीर पहरा काटेर राजमार्ग छेउ शहर बसाईन्छ। मुग्लिन, दोलालघाट जस्ता स्थानमा मानिसहरू बस्न थालेको कारण त्यही हो। त्यसैले ग्रामीण बस्ती खाली हुनुमा राज्यको नीति, कमजोरी र दृष्टिकोण जिम्मेवार छ। आजको आवश्यकता भनेको गाउँलाई संभावनाको केन्द्र बनाउनु हो, गाउँ समस्या होइन। त्यसका लागि अब प्रश्न मात्रा होइन, कार्यको सम्बादन गर्ने र गम्भीर हुने समय हो।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...