नेपाल विद्युत प्राधिकरणले बर्खामा नेपालमा खपत भई बाकि रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको छ ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लि.सँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो ।
बर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणले गरेको प्रस्तावमा बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिनेछ । हिउँदमा उताबाट ल्याउने र वर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत मूल्य तय गरिने प्रस्ताव छ ।
घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुनेछ र हिउँदयाममा आबश्यक विद्युतको आयात गर्न सकिने छ ।
अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४ सै घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनी लि.लाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपयोग हुनेछ ।
विद्युत् बिक्रीकालागि छलफल गर्न निर्देशक घिसिङको नेतृत्व टोली भारत गएको थियो । गत बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन थिए ।
टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान–प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको प्राधिकरणले जनाएको छ । विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था,दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरुसँग विस्तृत छलफल भएको प्राधिकरणले उल्लेख गरेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...