कोशीपारी अनलाईन, काठमाडौं । कोरोना महामारीका कारण थला परेको पार्टी प्यालेस व्यवसाय पुनः प्रभावित भएको छ । व्यवसायीहरुका अनुसार महामारी सुरु भएसँगै लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर लयमा फर्किन थालेको थियो । तर कोरोनाको दोस्रो लहरका कारण विवाहको मुख्य सिजनमै पार्टी प्यालेसहरु फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ ।
गत वर्ष वैशाख, जेठ र असारको विवाहको सिजन, तीज, दशैं जस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएका पार्टी प्यालेसलाई फेरि महामारीले अर्को धक्का दिएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरेको छ भने विवाह, ब्रतबन्ध लगायत कार्यमा २५ जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाएको छ । २५ जनाभन्दा बढी सहभागी नहुने गरी पार्टी प्यालेस प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेछ ।
सरकारले अघिल्लो साता नै २५ जनाभन्दा बढी व्यक्ति एकसाथ जमघट नहुन आह्वान गरेकाले पार्टी प्यालेस व्यवसायीहरू फेरि गत वर्षको जस्तै संकट आइपर्ने त्रासमा थिए ।
कोरोना महामारीका कारण २०७६ चैत ११ मा पहिलोपटक लकडाउन भएपछि गत वर्षको वैशाखमा पार्टी प्यालेसले व्यापार गुमाए । गत मंसिरमा सामान्य व्यवसाय गरेका व्यवसायीलाई यो वैशाखबाट व्यवसायले पुरानै गति समात्ने अपेक्षा थियो । तर ठूला समारोह गर्न नदिने सरकारको निर्णयपछि पार्टी प्यालेस सञ्चालकहरू निराश भएका छन् ।
पार्टी प्यालेसहरूका लागि विवाहको सिजन नै कमाउने समय हो । पार्टी प्यालेसहरू वर्षको ३६५ दिनमध्ये मुश्किलले १०० देखि १५० दिन मात्र चल्छन् । गत वर्ष वैशाख, जेठ र असारको विवाहको सिजन, तीज, दशैं जस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएका पार्टी प्यालेसलाई फेरि महामारीले अर्को धक्का दिएको छ ।
गत वर्ष रोकिएका विवाहसहितका विभिन्न समारोह पनि यस वर्ष हुने भएकाले पार्टी प्यालेसहरूले गत वर्षको क्षतिपूर्ति गर्न सक्ने आशा राखेका थिए । तर, महामारीले फेरि पार्टी प्यालेसहरूलाई अप्ठेरो अवस्थामा पुर्याइदिएको व्यवसायीहरू बताउँछन् ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष गंगा जिसीका अनुसार पार्टी प्यालेसहरूलाई महामारीले ठूलो जोखिममा धकेलेको छ । यो वर्ष गत वर्षको जस्तै अवस्था आएर ५० प्रतिशत पार्टी प्यालेस बन्द हुने अवस्था पुग्ने उनी बताउँछन् ।
बुकिङमा प्रभाव
महासंघका अनुसार महामारीको दोस्रो लहरले लगातार दोस्रोपटक व्यवसायमाथि ठूलो बज्रपात पर्ने देखिएको हो । वैशाखको लागि राम्रो बुकिङ आए पनि जेठ र असारको बुकिङ आउन नपाउँदै व्यवसायमाथि अर्को ब्रजपात भएको महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डे बताउँछन् ।
‘राम्रो बुकिङ आइरहेका बेला फेरि महामारी आयो’ उनी भन्छन्, ‘त्यसलगत्तै विवाहलगायतका समारोहमा बुकिङ मात्रै घटेन, पहिले भएका बुकिङ पनि क्यान्सिल हुने भएका छन्, या संशोधन भएर थोरै सेवाग्राही आउने छन् ।’
पार्टी प्यालेसमा प्रायःजसो एक महिनाअघि नै बुकिङ लिने प्रचलन छ । जेठ र असारमा पनि विवाहको साइतका थुप्रै दिन भएकाले यो वर्ष व्यापार चम्किने अपेक्षा थियो । ‘गत हप्ताबाट नयाँ बुकिङ आउने क्रम रोकिएको थियो’ पाण्डे भन्छन्, ‘अग्रिम बुकिङ लिएका ग्राहकले पनि महामारीको कारण देखाएर पार्टीमा सहभागी हुनेको संख्या घटाउन थालेका थिए ।’ इभेन्ट एन्ड भेन्यु एशोसिएसन काठमाडौंले पनि नयाँ बुकिङको क्रम लगभग रोकिन लाग्दा यस्तो निर्णय आएको बताएको छ ।
ग्राहकले पछिल्ला दिनमा समारोहका दिनमा कति व्यक्ति उपस्थित हुन्छन् भनेर यकिन गरेर भन्न नसकेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् । ‘घरपरिवारबाट आउने व्यक्तिको संख्या निश्चित गरे पनि बाहिरबाट कति मान्छे आउँछन् भनेर ग्राहकले तोकेर भन्न सक्नुभएको थिएन,’ उनले भने, ‘ग्राहकको अनुमानका आधारमा बढी मान्छे आएमा छिटो तयार हुने खालका वैकल्पिक परिकार खुवाउने गरी तयारी गरेका थियौं । अब फरक स्थिति आयो ।’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...