२०८२ माघ ५
January 19, 2026, Monday

टिकटकमा भाइरल मल पोखरी : ढलको फोहोरमाथि थलथल

टिकटकमा भाइरल मल पोखरी : ढलको फोहोरमाथि थलथल

काठमाडाैँ / नेपालमा टिकटक भित्रिएसँगै धेरै थाहा नभएका ठाउँ, कल्पनाभन्दा बाहिरका कला आममानिसले देख्न, सुन्न पाए । टिकटकले धेरै स्थानलाई भाइरल बनाइदिएको छ ।
 त्यसैको एक उदाहरण हो, ललितपुरको मल पोखरी । अहिले ललितपुर महानगरपालिका ४ धोबीघाटस्थित मल पोखरी टिकटकमा भाइरल छ । मलपोखरीमा टिकटक बनाउनकै लागि भनेर मानिसहरूको भिड लाग्ने गरेको छ । पोखरी भनिए पनि सहतमा घाँसैघाँस छ । घाँसकै बीचमा कतैकतै पानी देखिन्छ, अलिअलि । तलको तहमा पानी भए पनि माथि माटो, लेउ, घाँस र बोजोले पोखरीलाई ढपक्कै ढाकेको छ । हेर्दा घाँसै मैदान जस्तो देखिने सो ठाउँमा दलदल बनेको छ । त्यहाँ मानिस गएमा थलथल भएर पिङ खेले जस्तो हुन्छ । 

सोही ठाउँमा अहिले युवायुवतीहरू उफ्रिएर र नाचेर भिडियो बनाउँछन् । स्थानीयका अनुसार सुरुमा त्यहीँका एक व्यक्तिले भिडियो बनाएर टिकटकमा राखेपछि एकाएक भाइरल भएको हो । त्यसपछि सोध्दै, खोज्दै मानिसहरू भिडियो बनाउन आइरहेका छन् । 

कोसी अनलाइनको टोली त्यहाँ पुग्दा मानिसहरूको खासै भिड थिएन । कारण हो– प्रहरीले त्यहाँ गएर भिडियो बनाउन निषेध गरेको छ । आएका मानिसहरू टिकटक बनाउन नपाएर निराश देखिन्थे । 

पोखरीको बीचमा गाईवस्तु चरिरहेका थिए । गाइवस्तु भने वजनका कारण खुट्टा जमिनमुनि डुबेका थिए । तर मानिसहरू भने सतहमाथि नै अडिन्छन् । स्थानीय महिलाहरू त्यही पोखरीको बीचमा पुगेर घाँस काट्ने गरेको स्थानीय बासिन्दा मनबहादुर तामाङले बताए । 

मलपोखरीको इतिहास

काठमाडौँ उपत्यकाका अन्य पोखरीजस्तो यो पोखरी पानी जमाउन बनाइएको होइन । न त आफैँ बनेको नै हो । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाको ढल ल्याएर प्रशोधन गरी प्रांगारिक मल बनाउन भनी तत्कालीन सरकारले सो पोखरी बनाएको हो ।

तर स्थानीय बासिन्दा र नजिकै रहेको त्रिभुवन विश्वविद्यालयको विरोधका कारण सो योजना सफल हुन सकेन । बाक्लो बस्ती र विश्वविद्यालयको बीचमा ढल प्रशोधन केन्द्र बनाउँदा दुर्गन्ध फैलने र रोगब्याधिको सम्भावना बढी हुने भन्दै स्थानीयले विरोध गरे । फलस्वरुप योजना रोकियो ।

सो क्षेत्रमा एउटा मात्रै पोखरी छैन । तीन–चार वटा पोखरी खनिएकामा अन्य पोखरीमा पानी छैनन् । कुनै पोखरी पुरिसकिए । त्यसकै छेउमा रहेको अर्को पोखरीमा पानी छैन । त्यहाँ स्थानीय युवाहरू विभिन्न खेल खेल्छन् । पोखरीको बीचमा ठूलो पाइप छ, जसबाट ढल ल्याउने व्यवस्था गरिएको छ । 

अन्य पोखरीमा ढलको पानी हालिएन । तर अहिले भाइरल भएको पोखरीमा भने केही क्षेत्रको ढल हालिएको तामाङले जनाए । सोही ढलको पानीका कारण सो पोखरी सुक्न पाएन र त्यहाँ घाँस र बोजो उम्रियो । सोही बोजो र घाँसको जरा जेलिएर माथि एउटा दलदले सतह बनेको उनले बताए ।

‘काठमाडौँ, भक्तपुर ललितपुरको ढल छान्न त्यो पोखरी बनाइएको थियो । तर, स्थानीयले विरोध गरेपछि बन्द भएको थियो’, उनी भन्छन्, ‘अहिले सरकारले चाइनिज कम्पनीलाई निर्माणको काम जिम्मा लगाएको छ । उनीहरूले काम गरिरहेका छन्, तर यो मल पोखरी भने व्यवस्थित बनाएका छैनन् ।’

पोखरीमा जम्मा भएको पानी सफा नभएर स्थानीयले फालेको ढल भएकाले त्यहाँ नजान उनले टिकटक बनाउनेलाई हरदिन सम्झाउँछन् । पक्षाघात भएर शरीरको एकपाटो चल्न नसक्ने उनी दैनिक त्यही पोखरीको डिलमा आएर बस्छन् र त्यहाँ जानेलाई नजान सुझाव दिन्छन् । 

तर उनको सुझाव मान्ने कोही छैनन् । मानिसहरू त्यही ढलको पानीमाथि उफ्रिर भिडियो बनाउन रमाइरहेका छन् । उनीहरूलाई न त फोहोरको मलतब छ, न त सतर्कता नपनाउँदा निम्तिन सक्ने जोखिमको । मानिसहरूलाई त्यहाँ खतरा छ भनेर सूचित गर्दा समेत उनीहरू अटेरी गर्ने गरेको उनले बताए । भने, ‘मैले सम्झाउँदै उल्टै मलाई गाली गर्छन् । मरे हामी मर्छौं, तपाईंलाई के मतलब भन्छन् ।’

छैन सुरक्षाको व्यवस्था

पोखरीको माथि घाँस उम्रिएर घाँसे मैदान जस्तो भए पनि त लभने पानी छ । घाँसको सतह कमजोर भई मानिस तल छिरे ठूलै दुर्घटना हुन सक्ने तामाङ बताउँछन् । ‘यो पोखरीमा धेरै पहिले दुई जना मानिस छिरेर मरिसकेका छन्’, उनले भने, ‘कहिलेकाहीँ गाईवस्तु छिरेर निकाल्नुपर्छ ।’

Related News

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
  • २०७७ चैत्र ३०

कोशीपारी अनलाइन, काठमाण्डौं मंसिर १२, २०८२ काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिका–२, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई...

गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
  • २०७७ चैत्र ३०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...

हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
  • २०७७ चैत्र ३०

कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्‌वात्तै बढेको छ...

TOP