काठमाडाैँ / नेपालमा टिकटक भित्रिएसँगै धेरै थाहा नभएका ठाउँ, कल्पनाभन्दा बाहिरका कला आममानिसले देख्न, सुन्न पाए । टिकटकले धेरै स्थानलाई भाइरल बनाइदिएको छ ।
त्यसैको एक उदाहरण हो, ललितपुरको मल पोखरी । अहिले ललितपुर महानगरपालिका ४ धोबीघाटस्थित मल पोखरी टिकटकमा भाइरल छ । मलपोखरीमा टिकटक बनाउनकै लागि भनेर मानिसहरूको भिड लाग्ने गरेको छ । पोखरी भनिए पनि सहतमा घाँसैघाँस छ । घाँसकै बीचमा कतैकतै पानी देखिन्छ, अलिअलि । तलको तहमा पानी भए पनि माथि माटो, लेउ, घाँस र बोजोले पोखरीलाई ढपक्कै ढाकेको छ । हेर्दा घाँसै मैदान जस्तो देखिने सो ठाउँमा दलदल बनेको छ । त्यहाँ मानिस गएमा थलथल भएर पिङ खेले जस्तो हुन्छ ।
सोही ठाउँमा अहिले युवायुवतीहरू उफ्रिएर र नाचेर भिडियो बनाउँछन् । स्थानीयका अनुसार सुरुमा त्यहीँका एक व्यक्तिले भिडियो बनाएर टिकटकमा राखेपछि एकाएक भाइरल भएको हो । त्यसपछि सोध्दै, खोज्दै मानिसहरू भिडियो बनाउन आइरहेका छन् ।
कोसी अनलाइनको टोली त्यहाँ पुग्दा मानिसहरूको खासै भिड थिएन । कारण हो– प्रहरीले त्यहाँ गएर भिडियो बनाउन निषेध गरेको छ । आएका मानिसहरू टिकटक बनाउन नपाएर निराश देखिन्थे ।
पोखरीको बीचमा गाईवस्तु चरिरहेका थिए । गाइवस्तु भने वजनका कारण खुट्टा जमिनमुनि डुबेका थिए । तर मानिसहरू भने सतहमाथि नै अडिन्छन् । स्थानीय महिलाहरू त्यही पोखरीको बीचमा पुगेर घाँस काट्ने गरेको स्थानीय बासिन्दा मनबहादुर तामाङले बताए ।
काठमाडौँ उपत्यकाका अन्य पोखरीजस्तो यो पोखरी पानी जमाउन बनाइएको होइन । न त आफैँ बनेको नै हो । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाको ढल ल्याएर प्रशोधन गरी प्रांगारिक मल बनाउन भनी तत्कालीन सरकारले सो पोखरी बनाएको हो ।
तर स्थानीय बासिन्दा र नजिकै रहेको त्रिभुवन विश्वविद्यालयको विरोधका कारण सो योजना सफल हुन सकेन । बाक्लो बस्ती र विश्वविद्यालयको बीचमा ढल प्रशोधन केन्द्र बनाउँदा दुर्गन्ध फैलने र रोगब्याधिको सम्भावना बढी हुने भन्दै स्थानीयले विरोध गरे । फलस्वरुप योजना रोकियो ।
सो क्षेत्रमा एउटा मात्रै पोखरी छैन । तीन–चार वटा पोखरी खनिएकामा अन्य पोखरीमा पानी छैनन् । कुनै पोखरी पुरिसकिए । त्यसकै छेउमा रहेको अर्को पोखरीमा पानी छैन । त्यहाँ स्थानीय युवाहरू विभिन्न खेल खेल्छन् । पोखरीको बीचमा ठूलो पाइप छ, जसबाट ढल ल्याउने व्यवस्था गरिएको छ ।
अन्य पोखरीमा ढलको पानी हालिएन । तर अहिले भाइरल भएको पोखरीमा भने केही क्षेत्रको ढल हालिएको तामाङले जनाए । सोही ढलको पानीका कारण सो पोखरी सुक्न पाएन र त्यहाँ घाँस र बोजो उम्रियो । सोही बोजो र घाँसको जरा जेलिएर माथि एउटा दलदले सतह बनेको उनले बताए ।
‘काठमाडौँ, भक्तपुर ललितपुरको ढल छान्न त्यो पोखरी बनाइएको थियो । तर, स्थानीयले विरोध गरेपछि बन्द भएको थियो’, उनी भन्छन्, ‘अहिले सरकारले चाइनिज कम्पनीलाई निर्माणको काम जिम्मा लगाएको छ । उनीहरूले काम गरिरहेका छन्, तर यो मल पोखरी भने व्यवस्थित बनाएका छैनन् ।’
पोखरीमा जम्मा भएको पानी सफा नभएर स्थानीयले फालेको ढल भएकाले त्यहाँ नजान उनले टिकटक बनाउनेलाई हरदिन सम्झाउँछन् । पक्षाघात भएर शरीरको एकपाटो चल्न नसक्ने उनी दैनिक त्यही पोखरीको डिलमा आएर बस्छन् र त्यहाँ जानेलाई नजान सुझाव दिन्छन् ।
तर उनको सुझाव मान्ने कोही छैनन् । मानिसहरू त्यही ढलको पानीमाथि उफ्रिर भिडियो बनाउन रमाइरहेका छन् । उनीहरूलाई न त फोहोरको मलतब छ, न त सतर्कता नपनाउँदा निम्तिन सक्ने जोखिमको । मानिसहरूलाई त्यहाँ खतरा छ भनेर सूचित गर्दा समेत उनीहरू अटेरी गर्ने गरेको उनले बताए । भने, ‘मैले सम्झाउँदै उल्टै मलाई गाली गर्छन् । मरे हामी मर्छौं, तपाईंलाई के मतलब भन्छन् ।’
पोखरीको माथि घाँस उम्रिएर घाँसे मैदान जस्तो भए पनि त लभने पानी छ । घाँसको सतह कमजोर भई मानिस तल छिरे ठूलै दुर्घटना हुन सक्ने तामाङ बताउँछन् । ‘यो पोखरीमा धेरै पहिले दुई जना मानिस छिरेर मरिसकेका छन्’, उनले भने, ‘कहिलेकाहीँ गाईवस्तु छिरेर निकाल्नुपर्छ ।’
कोशीपारी अनलाइन, काठमाण्डौं मंसिर १२, २०८२ काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिका–२, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...
कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ...