कोशीपारी अनलाईन संवाददाता/ काठमाण्डौं
२५ असार, २०७८
गर्भावस्था हरेक महिलाको जीवनमा आउने विशेष र जोखिमपूर्ण अवस्था हो । समय समयमा र आवश्यक परेअनुसार गर्भावस्थामा नियमित परीक्षण गराउँदा जटिलतालाई न्युनीकरण गर्न तथा भइहाले छिटो पहिचान गर्न सहज हुन्छ । गर्भावस्थालाई तीन चरणमा विभाजन गरिएको हुन्छ । गर्भावस्थामा गर्भभित्र रहेको बच्चाको स्थिति थाहा पाउनका लागि कम्तिमा पनि तीन पटक भिडियो एक्स–रे (युएसजी, अल्ट्रासाउन्ड) गर्न चिकित्सकहरूले सल्लाह दिने गर्छन् ।
तर कुनै जटिलताका आधारमा चिकित्सकहरूले पटकपटक युएसजी गराउने सल्लाह दिन सक्छन् । कुनै पनि महिलाले जाँच गरेर गर्भवती भएको थाहा भएपछि पहिलो स्क्यान गर्नु पर्ने हुन्छ । पहिलो ट्राइमेस्टर वा बच्चा बसेको छ हप्तापछि बच्चा बसेको पोजिसन (पाठेघरभित्र बच्चा बसेको वा बाहिर) तथा बच्चाको मुटुको धड्कन चलेको छ वा छैन भनेर हेर्नका लागि युएसजी गरिन्छ ।
त्यसपछिको अवधिमा स्त्री रोग तथा प्रसूति विशेषज्ञको सल्लाहअनुसार युएसजी गर्नुपर्ने हुन्छ । जटिल प्रकारको गर्भावस्थामा, आमाको उमेर बढी भएमा, पहिलाको बच्चामा शारीरिक वा मानसिक रूपमा समस्या भएमा वा अन्य जोखिम कारक भएमा १२ देखि १३ हप्ता पनि युएसजी गर्न सुझाइन्छ । त्यसपछि गर्भावस्थाको बच्चाको सम्पूर्ण शारीरिक अवस्था थाहा पाउनका लागी एनोमली स्क्यान गर्नुपर्ने हुन्छ ।
बच्चाको सम्पूर्ण विकास भएपछि गर्भावस्थाको दोस्रो ट्राइमेस्टर (१८ देखि २२ हप्ताको अवधि)मा विस्तृत रूपमा गरिने परीक्षणलाई लेभल २ स्क्यान वा एनोमली स्क्यान भनिन्छ । यस स्क्यानमा गर्भमा रहेको बच्चाको विकास अनुगमनका साथै आमाको पाठेघरको अवस्थाको पनि परीक्षण हुन्छ । बच्चाको टाउकोको आकारदेखि लिएर आँखा, मस्तिष्क, मेरुदण्ड, मुटु, पेट, मिर्गौला, हातखुट्टालगायतका शरीरको विभिन्न अङ्ग र भागराम्रोसँग विकास वा केही खराबी भएमा थाहा पाउन उक्त स्क्यान गर्न जरुरी हुन्छ ।
एनोमली स्क्यानबाट मस्तिष्कको विकास, मेरुदण्ड पूर्ण रूपमा विकास भएनभएको वा बाङ्गो भएको, हातखुट्टाको विकास तथा असामान्य आकार भएमा, अनुहारको आकार वा कुनै खराबी भएमा, क्लेफ्ट लिप (ओठ काटिएको) छ वा छैन, मुटुको वनावट र विकास, नसाहरू ठिक ठाउँबाट निस्किएको छ वा छैन (गतल ठाउँबाट नसा निस्किएका पछि गएर बच्चा निलो हुने वा स्यानोसिस हुने हुनसक्छ) भनेर थाहा पाउन सकिन्छ ।
यसबाहेक एनोमली स्क्यानबाट बच्चा बसेको पोजिसन हेर्न, सालनाल (प्लासेन्टा)को विकास, सालनालको पोजिसन, गर्भनाल (उम्बिलिकल कर्ड), बच्चाको आन्द्रा कलेजो र अरू अङ्ग पेटबाट बाहिर निस्कने समस्या भएमा, बच्चामा हुने जन्मजात समस्या तथा आमाको शरीरमा हुने एम्निओटिक फ्ल्युड (बच्चा हुर्किन चाहिने तरल पदार्थ)को मात्रा पनि थाहा पाउन सकिन्छ ।
त्यसपछि गर्भावस्थाको तेस्रो ट्राइमेस्टरमा बच्चाको पोजिसन (सुल्टो वा उल्टो), एम्निओटिक फ्ल्युडको मात्रा (कम भएमा बच्चालाई गाह्रो हुने वा धेरै भए आमा वा बच्चामा समस्या भएको खोज्नुपर्ने हुनसक्छ) र सालनालको पोजिसन थाहा पाउनका लागि पनि युएसजी गर्नुपर्ने हुन्छ । सालनालको पोजिसन पाठेघरभन्दा तल भएमा यसले रक्तश्राव हुने, रगत जम्ने तथा बच्चाको ज्यानको खतरा हुनसक्छ ।
एनोमली स्क्यानको प्रक्रिया अरू सामान्य अल्ट्रासाउण्ड जस्तै नै हुन्छ, तर यसमा अरूमा भन्दा बढी समय लाग्छ । गर्भावस्थाको पहिलो र अन्तिम युएसजीमा पाँचदेखि १० मिनेट लाग्छ भने एनोमली स्क्यान गर्दा २५ देखि ३० मिनेट वा सोभन्दा बढी समय लाग्न सक्छ । गर्भावस्थामा गरिने युएसजीका लागि खासै तयारीको आवश्यक पर्दैन ।
गर्भावस्थामा पहिलो पटकको युएसजी गर्दा पिसाब रोकेको हुनु आवश्यक छ । तर, त्यसपछिको स्क्यानहरूमा भोकै पेट बस्ने वा पिसाब रोक्नु पर्ने हुँदैन । स्क्यान सकिएपछि प्राप्त रिपोर्टअनुसार थप परीक्षण आवश्यक पर्छ कि पर्दैन भन्ने कुनै समस्या भए पहिचान गर्न र समयमा समस्याको उपचार गर्न सकिन्छ । प्रत्येक गर्भवती महिलाका लागि गर्भावस्थामा युएसजी गर्न एकदमै जरुरी छ ।
गर्भावस्थामा हुने जटिलतालाई कम गर्न तथा समयमा जटिलता पहिचान गर्न, समस्या निवारण गर्न तथा आमा र बच्चाको ज्यान जोगाउनका लागि युएसजी गर्न र यसबारे सबै महिलाले जानकारी राख्न एकदम महत्त्वपूर्ण हुन्छ । मानिसमा भिडियो एक्स–रेले गर्भवती महिला तथा गर्भमा रहेको भ्रुणमा हानि पुर्याउँछ भन्ने मान्यता पाइन्छ । तर अन्य एक्स–रे, सिटी स्क्यानलगायतका इमेजिङ्ग टेक्निकको विपरीत, अल्ट्रासाउन्डले विकीरणको प्रयोग नगरी साउन्डवेभ प्रयोग गर्ने हुँदा यसले कुनै हानि हुँदैन ।
अल्ट्रासाउन्डले गर्भवती महिला तथा गर्भमा रहेको भ्रुणमा कुनै नराम्रो प्रभाव परेको छैन । यो सुरक्षित हुने कारण यसलाई गर्भावस्थाको समयमा भ्रुणको अवस्था हेर्नका लागि रुचाइएको विधि हो । अहिलेसम्म यसको कुनै पनि साइड इफेक्ट देखिएको छैन । विशेषज्ञ चिकित्सकको सल्लाह लिएर जतिपटकसम्म पनि भिडियो एक्स–रे जाँच गर्न सकिन्छ ।
(रेडियोलोजिस्ट डाक्टर मनिष पाठक, विराट मेडिकल कलेज शिक्षण अस्पतालका डिपार्टमेन्ट अफ रेडियोलोजी र इमेजिङका सह प्राध्यापकसमेत हुन् ।)
#महिला स्वास्थ्य
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...