२७ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं । उद्घाटन भइसकेका आयोजनालाई आगामी वर्षका लागि सरकारले करिब २ अर्ब रुपैयाँ खर्चिनुपर्ने भएको छ । उद्घाटन भइसके पनि काम नसकिएका कारण सरकारले मेलम्ची खानेपानी आयोजना र धरहरा पुनर्निर्माणमा आगामी आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने देखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पद धरापमा परेपछि काम नसकिए पनि यी परियोजनाहरु उद्घाटन गरेका थिए ।
निर्माण सकेर हस्तान्तरण नहुन्जेल निर्मित र निर्माणाधीन संरचना ठेकेदार कम्पनीकै जिम्मेवारीमा हुन्छ । निर्माण नसकिंदै उद्घाटन गरेपछि आयोजनाको गुणस्तरमा समस्या देखिएमा सरकारले ती परियोजना ग्रहण गर्ने कि नगर्ने भन्ने समस्या हुने विज्ञले बताउँदै आएका छन् ।
सार्वजनिक खरीद तथा परियोजना व्यवस्थापन मामिलाका जानकार डा. राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘ठेकेदारबाट हस्तान्तरण नभएका आयोजना उद्घाटन गर्दा करार प्रक्रिया पूरा भएको अर्थ लाग्छ । उद्घाटन भएको संरचनाको गुणस्तरबारे प्रश्न उठ्दा ठेकेदार पन्छिए समस्या हुने विज्ञ अधिकारी बताउँछन् ।
करार नसकिँदै उद्घाटन भएका परियोजनामा अहिले पनि सरकारले करोडौं लगानी गर्न बाँकी रहेको देखिन्छ ।
मेलम्चीलाई ५७ करोड
काम नसकिँदै विभिन्न चरणमा उद्घान भएको मेलम्चीको काम सकिने समयसीमा अझै निश्चित भएको छैन ।
तत्कालीन खानेपानी मन्त्री मणि थापाले १० फागुनमा सिन्धुपाल्चोकको अम्बाथानमा स्विच थिचेर सुरुङमा पानी भर्न शुरू गरेका थिए भने २२ फागुनमा प्रधानमन्त्रीले सुन्दरीजल आइपुगेको पानी वाग्मतीमा खसाल्न स्वीच थिचेका थिए । १५ चैतमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरूले पानी वितरण गर्न थालेका थिए ।
मेलम्ची खानेपानी आयोजनाको गत चैत १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको शुभारम्भ गरेकी थिइन् । तर, मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको काम सकिएको थिएन ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार आगामी आर्थिक वर्षका लागि मेलम्ची आयोजनाको काम सकाउने गरी ५७ करोड रुपैयाँ विनियोजन भएको छ । मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँध (ड्याम) र पानी छान्ने संयन्त्र (डिसेन्डर) भर्खरै तयार भएको छ ।
‘आगामी–साउन भदौभित्र ठेकेदारले आयोजना हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ,’ उनले भने, ‘संरचना निर्माणको काम सबै सकिए पनि केही मेकानिकल गेट र त्यससम्बद्ध उपकरण जडानका केही काम बाँकी नै छन् ।’ अहिले ती कतिपय गेटहरु भन्सार नाकाहरुमा आइपुगेका छन् ।
काम नसकी आयोजना उद्घाटनको लागि हतार गर्दा एकपटक पानी हालेपछि खाली गराएर आयोजनाको सुरुङको सपरीवेक्षण गर्ने काम पनि हुन सकेको छैन । आगामी असार १ गतेबाट मेलम्चीको पानी सुरुङमा हाल्न बन्द गने योजना बनेको छ ।
त्यसअनुसार २ महिनाभित्र २७ किलोमिटर सुरुङको सुपरीवेक्षण सक्ने सरकारी योजना छ । तर, सुरुङमा ठूलो समस्या देखिएमा अझै बढी समय लाग्न सक्छ । त्यसपछि मात्रै मेलम्चीबाट नियमित पानी आएर उद्घाटनको लागि योग्य अवस्थामा पुग्नेछ ।
उद्घाटन गरिएको धरहरालाई पनि ठूलो बजेट
गत वैशाख ११ गते प्रधानमन्त्रीले उद्घाटन गरेको धरहराको पुनर्निर्माण परियोजना पनि आगामी आर्थिक वर्षभित्र सकाउने लक्ष्य छ । लक्ष्यअनुसार काम भयो भने आगामी वर्ष धरहरामा मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्नेछ ।
पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर धरहराको ठेकदार कम्पनीलाई १ अर्ब ६४ करोडको भुक्तानी दिइसकेको बताउँछन् । ‘बाँकी काम आगामी आर्थिक वर्षभित्र सक्नुपर्ने हुन्छ,’ उनले भने, ‘महामारीका कारण म्याद थपिए पनि अर्को आर्थिक वर्षमा काम सकाउनुपर्ने हुन्छ ।’
बजेट पनि त्यसअनुसार नै व्यवस्था गरिएको उनले बताए । धरहराको परियोजना कुल ३ अर्ब ४५ करोडमा ठेक्का लागेको हो । सरकारले हतार–हतार टावर मात्रै उद्घाटन गरेपछि अहिले महामारीको कारण देखाएर धरहराको काम सुस्त भएको छ ।
काम नसकिएका कारण उद्घाटन गर्ने दिनमा धरहराको फेदको असरल्ल भागलाई कपडाले छोपेर ढोकातर्फको भागलाई भव्य रूपमा सजाएर रातो कार्पेट बिछ्याउनु परेको थियो ।
अहिले धरहराको बेसमेन्टसहित पार्किङ, बगैंचा, संग्रहालय लगायतका संरचना निर्माणको काम भइरहेको छ । छेउको सुन्धारालाई समेत समेटेर २९ रोपनीमा विस्तारित धरहरा क्षेत्रमा पार्क बनाउने सरकारी योजनाअनुसार काम हुँदैछ । धरहराको ठुटोलाई सिसाले छोपेर राख्ने काम पूरै बाँकी छ ।
कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको...
कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...
कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...