२०८२ फाल्गुन २५
March 9, 2026, Monday

पुँजी बजार साक्षरता : म्युचुअल फन्ड के हो, कसरी लिन सकिन्छ फाइदा ?

पुँजी बजार साक्षरता : म्युचुअल फन्ड के हो, कसरी लिन सकिन्छ फाइदा ?

१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता / बनेपा, काभ्रे म्युचुअल फन्ड एक यस्तो लगानी साधन हो जसमा धेरै लगानीकर्ताहरुबाट रकम जम्मा गरिन्छ र सेयर, बन्ड तथा अन्य धितोपत्रहरुमा लगानी गरिन्छ । म्युचुअल फन्डमार्फत छरिएर रहेका स–साना पुँजीहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य हुन्छ । योजनाको इकाई बिक्रीमार्फत लगानीका लागि रकम संकलन गरिन्छ । संकलित रकम योजना व्यवस्थापकले विभिन्न क्षेत्रहरुमा लगानी गर्छ ।

सामूहिक लगानी कोषमा लगानी गर्ने लगानीकर्ताहरु उक्त कोषको पोर्टफोलियोको हिस्सेदार बन्दछन् । तसर्थ, कोषले गर्ने आम्दानी र नोक्सान दुवैमा लगानीकर्ता हिस्सेदार बन्नुपर्ने हुन्छ । आम लगानीकर्तालाई विविधीकरण प्रदान गर्ने सहज र स्थापित माध्यमका रुपमा पनि म्युचुअल फन्डहरुलाई लिने गरिएको छ । म्युचुअल फन्डहरु सन् १९२० देखि नै अस्तित्वमा छन् र लगानीकर्ताका लागि काम गर्दै आएको ट्रयाक रेकर्ड पनि उनीहरुसँग रहेको छ ।  म्युचुअल फन्डहरु अस्तित्वमा आएको शताब्दी हुन लागे पनि यसप्रति आकर्षण भने पछिल्लो समय मात्र केही बढेको छ । इन्भेष्टमेन्ट कम्पनी इन्स्टिच्युटको एक अध्ययन अनुसार सन् २०२० मा ४५.७% अमेरिकी परिवारले म्युचुअलमा स्वामित्व लिएका छन् । जबकी सन् १९८० मा ५.७% अमेरिकी परिवारले मात्र म्युचुअल फन्डमा लगानी गरेका थिए । म्युचुअल फन्डले कसरी गर्छ काम ? सामान्यतयः म्युचुअल फन्डहरुलाई कोष व्यवस्थापक (फन्ड म्यानेजर) हरुले सक्रिय रुपमा व्यवस्थापन गरिरहेका हुन्छन् । धितोपत्रहरु कहिले किन्ने र कहिले बेच्ने भन्ने निर्णय कोष व्यवस्थापककै अधिनमा रहेको हुन्छ । कोष व्यवस्थापकले सकेसम्म नोक्सान नगरी फाइदा बढाउने किसिमले लगानी रणनीति बनाएका हुन्छन् । तपाईंले म्युचुअल फन्डमा लगानी गर्नु भनेको उक्त फन्ड र त्यसको सम्पतिको हिस्सामा लगानी गर्नु हो । अर्को अर्थमा भन्नुपर्दा तपाईंले फन्डको लगानीमा रहेको सम्पूर्ण पोर्टफोलियोमा लगानी गर्नुहुन्छ ।

तसर्थ, कुनै कम्पनीको सेयर किन्नु र म्युचुअल फन्डमा लगानी गर्नुमा केही फरक छ । सेयर खरिद गर्दा भने तपाईंले सीधै कम्पनीको केही हिस्सामा स्वामित्व लिनुहुन्छ । र, त्यसमा आउने उतारचढाव आफैं व्यवस्थापन गर्नुहुन्छ । म्युचुअल फन्डको भाउ खुद सम्पति मूल्य (न्याभ) का आधारमा निर्धारण हुन्छ । न्याभमा म्युचुअल फन्डको पोर्टफोलियोको सम्पूर्ण धितोपत्रहरु समेटिएको हुन्छ ।

यदि धितोपत्र बाहेक अन्य उपकरण, जस्तै: मुद्दति निक्षेप, बैंक मौज्दात लगायतमा लगानी रहेको छ भने त्यसलाई पनि फन्डको सम्पतिकै रुपमा लिइन्छ । यसरी आउने कुल सम्पतिलाई फन्डको कुल जारी इकाईले भाग गर्यो भने प्रतिइकाईको खुद सम्पति मूल्य पत्ता लाग्दछ ।  नेपालमा म्युचुअल फन्डहरुले इकाई निष्कासन गर्दा सामान्यतयः प्रतिइकाई १० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । फन्डले कुल कति इकाई जारी गर्ने भनेर सुरुमै निर्धारण गरेका हुन्छन् । फन्डको लगानी पोर्टफोलियोमा मूल्यमा परिवर्तन भइरहने विभिन्न धितोपत्रहरु समेटिने भएकाले खुद सम्पति पनि हरेक दिन परिवर्तन हुने गर्छ ।  म्युचुअल फन्डबाट कसरी हुन्छ आम्दानी ? लगानीकर्ताले म्युचुअल फन्डबाट विभिन्न तरिकाले आम्दानी गर्न सक्दछन् । जसलाई यहाँ चर्चा गरिएको छ : लाभांश : सेयरमा जस्तै म्युचुअल फन्डले पनि लगानीकर्तालाई वार्षिक रुपमा लाभांश दिने गर्दछन् । तर सेयरमा बोनस र नगद लाभांश दुवै दिने सम्भावना रहन्छ भने म्युचुअल फन्डमा नगद लाभांश मात्र पाइन्छ । यद्दपि, कतिपय म्युचुअल फन्डहरुले लाभांशलाई पुनः फन्डमै लगानी गर्न पाउने सुविधा पनि दिएका हुन्छन् ।  पुँजीगत लाभ : यदि कुनै लगानीकर्ताले म्युचुअल फन्डको इकाईलाई फाइदामा बेच्दछ भने त्यसलाई पुँजीगत लाभ भनिन्छ । म्युचुअल फन्डहरु पनि स्टक एक्सचेन्जमा सूचीकृत हुने भएकाले सेयर जस्तै यसको इकाईलाई पनि दैनिक रुपमा खरिदबिक्री गर्न सकिन्छ । न्याभ : फन्डको खुद सम्पति मूल्य (न्याभ) बढ्दा पनि लगानीकर्ताले फाइदा लिन सक्दछन् । सम्पतिको भ्याल्यू बढ्दा फन्डको इकाईको भाउ पनि महंगो पर्दछ । जसका कारण फाइदामा इकाई बिक्री गर्ने मौका मिल्दछ ।  म्युचुअल फन्डका फाइदा तथा बेफाइदा : म्युचुअल फन्डलाई आफ्नो पोर्टफोलियोमा समावेश गर्नुअघि लगानीकर्ताले यसका केही फाइदा र बेफाइदाका बारेमा बुझ्नु आवश्यक हुन्छ । लगानीकर्ताको आफ्नो लगानी रणनीति, लक्ष्य र लगानी शैलीले पनि फाइदा हुने वा बेफाइदा हुने भन्ने निर्धारण गरेको हुन्छ ।  फाइदा 
 – व्यावसायिक कोष व्यवस्थापहरुले तपाईंको लगानी व्यवस्थापन गरिदिने हुनाले म्युचुअल फन्डले सरलता र मनको शान्ति प्रदान गर्दछन् ।  – सानो लगानीबाट पनि सुरु गर्न सकिने । – एउटै फन्डमार्फत विभिन्न सेक्टर र उपकरणहरुमा लगानी हुने भएकाले विविधिकरणको लाभ लिन सकिने ।
 – अधिकांश समय स्थिर मूल्यमा इकाई खरिद गर्न सकिने । बेफाइदा :
 – व्यावसायिक व्यवस्थापनको काम खर्चालु हुने सम्भावना रहन्छ । 
 – कोष व्यवस्थापको निर्णयमा लगानीकर्ताको कुनै नियन्त्रण नहुने ।
 – तरलताको कमी हुने । म्युचुअल फन्डको प्रकार  म्युचुअल फन्डहरु सबै एकै किसिमका हुन्छन् भन्ने सम्झिनु गलत हुन जान्छ । सबै म्युचुअल फन्ड योजनाहरु आ–आफ्नै प्रकृतिका छन् । उनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै हुन्छ । यहाँ म्युचुअल फन्डका ७ मुख्य प्रकारको बारेमा चर्चा गरिएको छ । १. इक्विटी फन्डहरु : इक्विटी फन्डको अधिकांश लगानी स्टकमा हुने गर्दछ र कम्पनीको आकार तथा बजार पुँजीकरणका आधारमा यसको वर्गीकरण गरिन्छ । इक्विटी फन्डलाई ग्रोथ, भ्याल्यू वा ब्लेन्डेड फन्डको रुपमा विभाजन गर्न सकिन्छ । ग्रोथ फन्डले समग्र बजारको भन्दा राम्रो प्रदर्शन गर्नसक्ने सम्भावना भएका कम्पनीहरुको सेयर होल्ड गर्दछन् । यस्तै, भ्याल्यू फन्डमा भने अवमूल्यनमा परेका (अन्डरभ्याल्यूड) कम्पनीहरुको सेयरको बाहुल्यता रहेको हुन्छ । ब्लेन्डेड फन्डले भने ग्रोथ र भ्याल्यू स्टक दुवैको मिश्रण गरेका हुन्छन् । २. बन्ड फन्डहरु : यस्ता फन्डहरुले खास गरी अल्पकालीन वा दीर्घकालीन परिपक्कता (म्याचुरिटी) अवधि भएका बन्डहरु खरिद गर्न लगानीकर्ताबाट रकम संकलन गरेका हुन्छन् । बन्डमा विविधीकरण गर्न चाहने लगानीकर्ताले व्यक्तिगत रुपमा विभिन्न बन्डहरु खरिद गर्नुको सट्टा यस्ता बन्ड फन्डहरुमा लगानी गर्नु उचित मानिन्छ । ३. मनि मार्केट फन्ड : यस्ता फन्डहरु निश्चित आम्दानी भएका म्युचुअल फन्डहरु हुन्, जसले न्यून कर्जा जोखिम भएका मुद्रा उपकरणमा लगानी गर्छन् । हाल नेपालमा यस्ता विशेष किसिमका फन्डहरु प्रचलनमा छैनन् । यस्ता फन्डले विशेषगरी, अल्पकालीन ट्रेजरी बिल, डिपोजिट सर्टिफिकेट लगायतमा लगानी गर्दछन् । यस्ता फन्डहरुले मुख्यगरी तरलता कायम राख्ने तथा सेयरको मूल्य स्थिर राख्ने र लगानीकर्तालाई निश्चित प्रतिफल पनि दिने उद्देश्य राखेका हुन्छन् । ४. ब्यालेन्स्ड फन्ड : हाल नेपालमा ब्यालेन्स्ड फन्डहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । यस्ता म्युचुअल फन्डहरुले बन्ड तथा स्टक दुवैमा लगानी गरेका हुन्छन् । यी फन्डहरुले कहाँ कति सम्पति लगानी गर्ने भन्ने विषय सुरुवातमै निर्धारण गरेका हुन्छन् ।  ५. इन्डेक्स फन्ड : कुनै निश्चित मार्केट इन्डेक्सलाई मध्यनजर गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन गरिएको हुन्छ । इन्डेक्स फन्डलाई टार्केट गरिएको इन्डेक्सको प्रदर्शनसँग मेल हुने गरी निर्माण गरिएको हुन्छ । न्यून जोखिम, न्यून व्यवस्थापन तथा न्यून लागतमा सञ्चालन हुने भएकाले इन्डेक्स फन्डलाई धेरै लगानीकर्ताले रुचाउने गरेका छन् । ६. सेक्टर वा स्पेसियाल्टी फन्ड : यस्ता म्युचुअल फन्डहरुको लगानी निश्चित इन्डस्ट्री वा मार्केट सेक्टरमा एकत्र भएको हुन्छ । उदाहरणका लागि, रियल स्टेट, टेक्नोलोजी वा स्वास्थ्य क्षेत्र । कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुँदा यस्ता फन्डहरुमा विविधीकरण भने हुँदैन । तर यस्ता फन्डलाई अन्य फन्ड वा लगानीसँग मिश्रण गरेमा भने लाभ हुने देखिन्छ । यद्दपि, नेपालमा भने हालसम्म यस्ता फन्डहरु सञ्चालनमा आएका छैनन् ।  ७. टार्गेट डेट फन्ड : परिपक्क हुने मिति लक्षित गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन हुने गरेका छन् । उक्त समयावधि भित्र यस्ता म्युचुअल फन्डहरुले आफ्नो पोर्टफोलियोमा विभिन्न सम्पतिहरुको मिश्रण गरेका हुन्छन् । समयसँगै यस्ता फन्डहरुको जाखिम बहन गर्ने क्षमता पनि बढ्दै जान्छ । अवकास पाउने बेला भएका लगानीकर्ताहरुका लागि यस्तो म्युचुअल फन्ड निकै प्रभावकारी हुने विश्वास गरिएको छ । 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP