१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता / बनेपा, काभ्रे म्युचुअल फन्ड एक यस्तो लगानी साधन हो जसमा धेरै लगानीकर्ताहरुबाट रकम जम्मा गरिन्छ र सेयर, बन्ड तथा अन्य धितोपत्रहरुमा लगानी गरिन्छ । म्युचुअल फन्डमार्फत छरिएर रहेका स–साना पुँजीहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य हुन्छ । योजनाको इकाई बिक्रीमार्फत लगानीका लागि रकम संकलन गरिन्छ । संकलित रकम योजना व्यवस्थापकले विभिन्न क्षेत्रहरुमा लगानी गर्छ ।
सामूहिक लगानी कोषमा लगानी गर्ने लगानीकर्ताहरु उक्त कोषको पोर्टफोलियोको हिस्सेदार बन्दछन् । तसर्थ, कोषले गर्ने आम्दानी र नोक्सान दुवैमा लगानीकर्ता हिस्सेदार बन्नुपर्ने हुन्छ । आम लगानीकर्तालाई विविधीकरण प्रदान गर्ने सहज र स्थापित माध्यमका रुपमा पनि म्युचुअल फन्डहरुलाई लिने गरिएको छ । म्युचुअल फन्डहरु सन् १९२० देखि नै अस्तित्वमा छन् र लगानीकर्ताका लागि काम गर्दै आएको ट्रयाक रेकर्ड पनि उनीहरुसँग रहेको छ । म्युचुअल फन्डहरु अस्तित्वमा आएको शताब्दी हुन लागे पनि यसप्रति आकर्षण भने पछिल्लो समय मात्र केही बढेको छ । इन्भेष्टमेन्ट कम्पनी इन्स्टिच्युटको एक अध्ययन अनुसार सन् २०२० मा ४५.७% अमेरिकी परिवारले म्युचुअलमा स्वामित्व लिएका छन् । जबकी सन् १९८० मा ५.७% अमेरिकी परिवारले मात्र म्युचुअल फन्डमा लगानी गरेका थिए । म्युचुअल फन्डले कसरी गर्छ काम ? सामान्यतयः म्युचुअल फन्डहरुलाई कोष व्यवस्थापक (फन्ड म्यानेजर) हरुले सक्रिय रुपमा व्यवस्थापन गरिरहेका हुन्छन् । धितोपत्रहरु कहिले किन्ने र कहिले बेच्ने भन्ने निर्णय कोष व्यवस्थापककै अधिनमा रहेको हुन्छ । कोष व्यवस्थापकले सकेसम्म नोक्सान नगरी फाइदा बढाउने किसिमले लगानी रणनीति बनाएका हुन्छन् । तपाईंले म्युचुअल फन्डमा लगानी गर्नु भनेको उक्त फन्ड र त्यसको सम्पतिको हिस्सामा लगानी गर्नु हो । अर्को अर्थमा भन्नुपर्दा तपाईंले फन्डको लगानीमा रहेको सम्पूर्ण पोर्टफोलियोमा लगानी गर्नुहुन्छ ।
तसर्थ, कुनै कम्पनीको सेयर किन्नु र म्युचुअल फन्डमा लगानी गर्नुमा केही फरक छ । सेयर खरिद गर्दा भने तपाईंले सीधै कम्पनीको केही हिस्सामा स्वामित्व लिनुहुन्छ । र, त्यसमा आउने उतारचढाव आफैं व्यवस्थापन गर्नुहुन्छ । म्युचुअल फन्डको भाउ खुद सम्पति मूल्य (न्याभ) का आधारमा निर्धारण हुन्छ । न्याभमा म्युचुअल फन्डको पोर्टफोलियोको सम्पूर्ण धितोपत्रहरु समेटिएको हुन्छ ।
यदि धितोपत्र बाहेक अन्य उपकरण, जस्तै: मुद्दति निक्षेप, बैंक मौज्दात लगायतमा लगानी रहेको छ भने त्यसलाई पनि फन्डको सम्पतिकै रुपमा लिइन्छ । यसरी आउने कुल सम्पतिलाई फन्डको कुल जारी इकाईले भाग गर्यो भने प्रतिइकाईको खुद सम्पति मूल्य पत्ता लाग्दछ । नेपालमा म्युचुअल फन्डहरुले इकाई निष्कासन गर्दा सामान्यतयः प्रतिइकाई १० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । फन्डले कुल कति इकाई जारी गर्ने भनेर सुरुमै निर्धारण गरेका हुन्छन् । फन्डको लगानी पोर्टफोलियोमा मूल्यमा परिवर्तन भइरहने विभिन्न धितोपत्रहरु समेटिने भएकाले खुद सम्पति पनि हरेक दिन परिवर्तन हुने गर्छ । म्युचुअल फन्डबाट कसरी हुन्छ आम्दानी ? लगानीकर्ताले म्युचुअल फन्डबाट विभिन्न तरिकाले आम्दानी गर्न सक्दछन् । जसलाई यहाँ चर्चा गरिएको छ : लाभांश : सेयरमा जस्तै म्युचुअल फन्डले पनि लगानीकर्तालाई वार्षिक रुपमा लाभांश दिने गर्दछन् । तर सेयरमा बोनस र नगद लाभांश दुवै दिने सम्भावना रहन्छ भने म्युचुअल फन्डमा नगद लाभांश मात्र पाइन्छ । यद्दपि, कतिपय म्युचुअल फन्डहरुले लाभांशलाई पुनः फन्डमै लगानी गर्न पाउने सुविधा पनि दिएका हुन्छन् । पुँजीगत लाभ : यदि कुनै लगानीकर्ताले म्युचुअल फन्डको इकाईलाई फाइदामा बेच्दछ भने त्यसलाई पुँजीगत लाभ भनिन्छ । म्युचुअल फन्डहरु पनि स्टक एक्सचेन्जमा सूचीकृत हुने भएकाले सेयर जस्तै यसको इकाईलाई पनि दैनिक रुपमा खरिदबिक्री गर्न सकिन्छ । न्याभ : फन्डको खुद सम्पति मूल्य (न्याभ) बढ्दा पनि लगानीकर्ताले फाइदा लिन सक्दछन् । सम्पतिको भ्याल्यू बढ्दा फन्डको इकाईको भाउ पनि महंगो पर्दछ । जसका कारण फाइदामा इकाई बिक्री गर्ने मौका मिल्दछ । म्युचुअल फन्डका फाइदा तथा बेफाइदा : म्युचुअल फन्डलाई आफ्नो पोर्टफोलियोमा समावेश गर्नुअघि लगानीकर्ताले यसका केही फाइदा र बेफाइदाका बारेमा बुझ्नु आवश्यक हुन्छ । लगानीकर्ताको आफ्नो लगानी रणनीति, लक्ष्य र लगानी शैलीले पनि फाइदा हुने वा बेफाइदा हुने भन्ने निर्धारण गरेको हुन्छ । फाइदा
– व्यावसायिक कोष व्यवस्थापहरुले तपाईंको लगानी व्यवस्थापन गरिदिने हुनाले म्युचुअल फन्डले सरलता र मनको शान्ति प्रदान गर्दछन् । – सानो लगानीबाट पनि सुरु गर्न सकिने । – एउटै फन्डमार्फत विभिन्न सेक्टर र उपकरणहरुमा लगानी हुने भएकाले विविधिकरणको लाभ लिन सकिने ।
– अधिकांश समय स्थिर मूल्यमा इकाई खरिद गर्न सकिने । बेफाइदा :
– व्यावसायिक व्यवस्थापनको काम खर्चालु हुने सम्भावना रहन्छ ।
– कोष व्यवस्थापको निर्णयमा लगानीकर्ताको कुनै नियन्त्रण नहुने ।
– तरलताको कमी हुने । म्युचुअल फन्डको प्रकार म्युचुअल फन्डहरु सबै एकै किसिमका हुन्छन् भन्ने सम्झिनु गलत हुन जान्छ । सबै म्युचुअल फन्ड योजनाहरु आ–आफ्नै प्रकृतिका छन् । उनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै हुन्छ । यहाँ म्युचुअल फन्डका ७ मुख्य प्रकारको बारेमा चर्चा गरिएको छ । १. इक्विटी फन्डहरु : इक्विटी फन्डको अधिकांश लगानी स्टकमा हुने गर्दछ र कम्पनीको आकार तथा बजार पुँजीकरणका आधारमा यसको वर्गीकरण गरिन्छ । इक्विटी फन्डलाई ग्रोथ, भ्याल्यू वा ब्लेन्डेड फन्डको रुपमा विभाजन गर्न सकिन्छ । ग्रोथ फन्डले समग्र बजारको भन्दा राम्रो प्रदर्शन गर्नसक्ने सम्भावना भएका कम्पनीहरुको सेयर होल्ड गर्दछन् । यस्तै, भ्याल्यू फन्डमा भने अवमूल्यनमा परेका (अन्डरभ्याल्यूड) कम्पनीहरुको सेयरको बाहुल्यता रहेको हुन्छ । ब्लेन्डेड फन्डले भने ग्रोथ र भ्याल्यू स्टक दुवैको मिश्रण गरेका हुन्छन् । २. बन्ड फन्डहरु : यस्ता फन्डहरुले खास गरी अल्पकालीन वा दीर्घकालीन परिपक्कता (म्याचुरिटी) अवधि भएका बन्डहरु खरिद गर्न लगानीकर्ताबाट रकम संकलन गरेका हुन्छन् । बन्डमा विविधीकरण गर्न चाहने लगानीकर्ताले व्यक्तिगत रुपमा विभिन्न बन्डहरु खरिद गर्नुको सट्टा यस्ता बन्ड फन्डहरुमा लगानी गर्नु उचित मानिन्छ । ३. मनि मार्केट फन्ड : यस्ता फन्डहरु निश्चित आम्दानी भएका म्युचुअल फन्डहरु हुन्, जसले न्यून कर्जा जोखिम भएका मुद्रा उपकरणमा लगानी गर्छन् । हाल नेपालमा यस्ता विशेष किसिमका फन्डहरु प्रचलनमा छैनन् । यस्ता फन्डले विशेषगरी, अल्पकालीन ट्रेजरी बिल, डिपोजिट सर्टिफिकेट लगायतमा लगानी गर्दछन् । यस्ता फन्डहरुले मुख्यगरी तरलता कायम राख्ने तथा सेयरको मूल्य स्थिर राख्ने र लगानीकर्तालाई निश्चित प्रतिफल पनि दिने उद्देश्य राखेका हुन्छन् । ४. ब्यालेन्स्ड फन्ड : हाल नेपालमा ब्यालेन्स्ड फन्डहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । यस्ता म्युचुअल फन्डहरुले बन्ड तथा स्टक दुवैमा लगानी गरेका हुन्छन् । यी फन्डहरुले कहाँ कति सम्पति लगानी गर्ने भन्ने विषय सुरुवातमै निर्धारण गरेका हुन्छन् । ५. इन्डेक्स फन्ड : कुनै निश्चित मार्केट इन्डेक्सलाई मध्यनजर गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन गरिएको हुन्छ । इन्डेक्स फन्डलाई टार्केट गरिएको इन्डेक्सको प्रदर्शनसँग मेल हुने गरी निर्माण गरिएको हुन्छ । न्यून जोखिम, न्यून व्यवस्थापन तथा न्यून लागतमा सञ्चालन हुने भएकाले इन्डेक्स फन्डलाई धेरै लगानीकर्ताले रुचाउने गरेका छन् । ६. सेक्टर वा स्पेसियाल्टी फन्ड : यस्ता म्युचुअल फन्डहरुको लगानी निश्चित इन्डस्ट्री वा मार्केट सेक्टरमा एकत्र भएको हुन्छ । उदाहरणका लागि, रियल स्टेट, टेक्नोलोजी वा स्वास्थ्य क्षेत्र । कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुँदा यस्ता फन्डहरुमा विविधीकरण भने हुँदैन । तर यस्ता फन्डलाई अन्य फन्ड वा लगानीसँग मिश्रण गरेमा भने लाभ हुने देखिन्छ । यद्दपि, नेपालमा भने हालसम्म यस्ता फन्डहरु सञ्चालनमा आएका छैनन् । ७. टार्गेट डेट फन्ड : परिपक्क हुने मिति लक्षित गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन हुने गरेका छन् । उक्त समयावधि भित्र यस्ता म्युचुअल फन्डहरुले आफ्नो पोर्टफोलियोमा विभिन्न सम्पतिहरुको मिश्रण गरेका हुन्छन् । समयसँगै यस्ता फन्डहरुको जाखिम बहन गर्ने क्षमता पनि बढ्दै जान्छ । अवकास पाउने बेला भएका लगानीकर्ताहरुका लागि यस्तो म्युचुअल फन्ड निकै प्रभावकारी हुने विश्वास गरिएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...