कोशीपारी अनलाईन/ काठमाण्डौ
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ३ विकेटले पराजित भएको छ । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनि सन्दीप लामिछानेको ४ विकेटका बाबजुद पनि नेपालले २०६ रनको स्कोर जोगाउन सकेन । २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
यो जितपछि नेदरल्याण्डसले गत शनिबार नेपालसँग व्यहोरेको हारको बदला लिएको छ । सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो ।
नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।
नेपालले पनि अहिलेसम्म २ खेल जितेर ४ अंक जोडेको छ । तर रन रेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।
नेदरल्याण्ड्सका लागि बास डे लिडले अविजित रहँदै सर्वाधिक ८१ रन बनाए । उनले ४२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै बेन कुपरले ५५ रन जोडे ।
दोस्रो ओभरमै पहिलो विकेट गुमाएको नेदरल्याण्ड्सका लागि टोबियस भिसे र बेन कुपरले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि बेन कुपर र बास डे लिडले ६८ रनको साझेदारी गरे । बेन कुपरले ३५ बल खेल्दै १० चौका मद्दतमा ५५ रन बनाए । यस्तै कप्तान पिटर सिलारले १५ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३१ रन जोडे ।
नेदरल्याण्ड्सलाई जितका लागि अन्तिम ३ ओभरमा ४५ रन चाहिएको थियो । तर नेपाली बलरमाथि नेदरल्याण्ड्सका बास डे लिड र कप्तान पिटर सिलार हावी बने ।
१८ औं ओभरमा कप्तान सिलारले नेपालका सन्दीपलाई ३ छक्का प्रहार गरे । सन्दीपले १ विकेट लिँदा २० रन दिए । १९ औं ओभर अविनाश बोहराले २ छक्का र १ चौकासहित १९ रन दिएर १ विकट लिए । दुई ओभरमै ३९ रन जोडेपछि नेदरल्याण्ड्सलाई अन्तिम ओभरमा जितका लागि ६ रन मात्र चाहिएको थियो ।
करणले पहिलो बलमै सेबास्टिएन स्टाललाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराएका थिए । तर त्यसपछि बास डे लिडले लगातार दुई चौका प्रहार गर्दै नेदरल्याण्ड्सलाई जित दिलाए ।
नेपालका लागि सर्वाधिक ४ विकेट लिएपनि सन्दीप महंगा सावित भए । उनले ४ ओभरमा ४८ रन खर्चिए । टी-२० अन्तर्राष्ट्रियमा नेपाली बलरले खर्चिएको यो दोस्रो धेरै रन हो । यसअघि बसन्त रेग्मीले २०१९ मा सिंगापुरविरुद्ध ४ ओभरमा ५४ रन खर्चिएका थिए ।
यस्तै करण केसी, अविनाश बोहरा र कुशल मल्लले १-१ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०५ रन बनाएको थियो । भुर्तेलले लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए ।
उनले ४१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरे । समग्रमा ४६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६२ रन जोडे । । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशकको इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बने ।
यसअघि गत शनिबार नेदरल्याण्ड्स र आइतबार मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लेका छन् । पहिलो स्थानमा रहेका पारस खड्काले ५ अर्धशतक बनाएका छन् ।
भुर्तेलले नेदरल्याण्ड्स विरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए । यस्तै दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए । उनले १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । उनले २८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक बनाएका थिए । दीपेन्द्रले समग्रमा ३० बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा ६० रन बनाए ।
यसअघि दुई खेलमा लगातार शतकीय साझेदारी गरेका नेपालका ओपनरद्वय कुशल र आसिफ शेखको जोडी मंगलबारको खेलमा भने जमेन । आसिफ शून्यमा आउट भए । पहिलो विकेटका लागि २० रनको साझेदारी मात्र भयो । दोस्रो विकेटका लागि कुशल र कप्तान ज्ञानेन्द्र मल्ले ४३ रनको साझेदारी गरे । तर कप्तान ज्ञानेन्द्र २० रन बनाएर आउट हुँदा नेपालले ६३ रनमा दोस्रो विकेट गुमायो ।
त्यसपछि कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रनको साझेदारी गरे । नेपालका लागि सोमपाल कामीले अविजित २१, कुशल मल्लले १८, विनोद भण्डारीले अविजित ७ र करण केसीले १ रन जोडे । बलिङमा नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र कप्तान पिटर सिलारले २-२ विकेट लिए । यस्तै बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए ।
कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...
कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौ नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित...
कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका...