२०८२ कार्तिक २३
November 9, 2025, Sunday
कोरोना भाईरस

‘नयाँ भेरियन्टका कारण बढी छ जोखिम’

कोशीपारी अनलाईन / गत वर्ष धेरै देशहरुसँग जस्तै हामीसँग पनि महामारीविरुद्ध लड्ने अनुभव थिएन । अहिले हामीलाई पहिलाभन्दा धेरै कुरा थाहा छ । यसका बाबजुद हामीबाट केही भुल भए । विशेषगरि गएका दुईतीन महिनामा भाइरस केही होइन रहेछ भन्ने मानसिकता विकास भयो । त्यसैको परिणामस्वरुप अहिले संक्रमण बढी देखियो ।

दैनिक संक्रमण दर १० प्रतिशतभन्दा बढी देखिन थालेकाले जोखिम बढेको बुझ्न सकिन्छ । सीमा नाका तथा समुदायस्तरमा गरिएको एन्टिजेन टेष्टको नतिजाले समुदायमा भित्रभित्रै संक्रमण बढेको प्रष्ट हुन्छ । अस्पतालहरुमा बढेको संक्रमितको संख्याले पनि आउँदै गरेको जोखिम अनुमान गर्न सक्छौं । संक्रमण बढ्दै गर्दा धेरैलाई सीमा नाकाको चासो छ । तर अहिले सीमा नाकाको रणनीति पहिले भन्दा फरक छ । पहिलेजस्तै नाकामै रोक्ने या छिर्न नदिने भन्दा नाकामा हेल्थ डेस्क राखेका छौं, जहाँ स्वास्थ्यकर्मीहरुले जोखिम या लक्षणको अवस्था हेरेर नेपाल छिर्ने मानिसहरुको व्यवस्थापन गरिरहेका छन् । नजिक घर हुनेहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेर पठाउने गरिएको छ भने टाढा हुनेहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ ।

पहिलेको महामारीबाट हामीले सिक्यौं कि नाकामै रोकेर राख्दा वा आएजति सबैलाई क्वारेन्टिनमा राख्दा संक्रमण झन् फैलिने डर हुनेरहेछ । किनकी सबैलाई व्यवस्थापन गर्ने क्षमता हामीसँग छैन । त्यसैले औपचारिक नाकाबाट आएकालाई हेल्थ डेस्कको स्वास्थ्य जाँचका आधारमा व्यवस्थापन गरिरहेका छौं ।

अन्तर्राष्ट्रिय नाका पार गरेर नेपाल आउने सबैको एन्टिजेन टेष्ट गर्न पनि सम्भव छैन । किनकी सीमा नाका पास गरेर नेपाल आउनेहरुको अनुपातमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मी छैनन् । सबैको टेष्ट गर्ने हो भने लामो लाइन लगाउनुपर्छ । गर्मीको समयमा धेरै बेरसम्म लाइन बसाउँदा अर्को समस्या पर्न सक्छ ।

सीमा नाकाको कुरा गर्दै गर्दा देशभित्र भएको संक्रमणबारे पनि बुझ्नुपर्छ । तुलनात्मक रुपमा पहिलेभन्दा बढ्दो छ र नयाँ भेरियन्ट पनि भेटिएको छ । र्‍याण्डम स्याम्पलिङ गर्दा पहिलेभन्दा नयाँ भेरियन्ट दुई तिहाई बढी मात्रामा देखिएको छ ।

संक्रामक रोगसम्बन्धी ऐनले रोकथाम तथा नियन्त्रणका लागि पालना गर्नुपर्ने मापदण्डहरु लागू गराउने भूमिका प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । उहाँहरुले जिल्लामा हुने भिडभाड, नारा जुलुसलगायतका गतिविधि कम गर्न भूमिका खेल्नुभयो भने कोरोना महामारीविरुद्ध लड्न सहज हुन्छ । त्यसैगरी स्थानीय तथा प्रदेश सरकारले केन्द्रले दिएको निर्देशन र गाइडलाइन अनुसार क्वारेन्टिन, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङ व्यवस्थित गरिदिए महामारीसँँग लड्न सजिलो हुन्छ । विगतबाट सिकेको पाठलाई आत्मसाथ गर्दै महामारीविरुद्ध लड्न सबै तह र क्षेत्रबीच सहकार्य आवश्यक छ ।

गतवर्ष महामारीविरुद्ध लड्न लकडाउन गरिएको थियो, जसका कारण मानिसको आवगमन कम भएकाले संक्रमण विस्तारै फैलिन्थ्यो । अहिले त संक्रमण हामीभित्रै छ । विद्यालय, यातायातलगायतका भीडभाड हुने क्षेत्र चलिरहेको छ । त्यसमाथि दोस्रो लहरमा नयाँ भेरियन्टको संक्रमणले गर्दा जोखिम बढी छ ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलसँग अनलाइनखबरका सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP