२०८२ कार्तिक २१
November 7, 2025, Friday

मेलम्चीको पानी : पुरानो वितरण प्रणालीले थेग्नै सकस

मेलम्चीको पानी : पुरानो वितरण प्रणालीले थेग्नै सकस

२३ चैत, काठमाडौं। शनिबार दिउँसोको दृश्य हो– त्यागलबाट ग्वार्कोतर्फ झर्ने सडकमा कोही सडकमै गलैंचा पखालिरहेका, कोही सडकमै राखेर कपडा धुन व्यस्त थिए। त्यसरी सडकमै लुगा–कपडा र गलैंचा धुने अवसर भने पाइप फुटेर सडकभरि बगिरहेको मेलम्चीको पानीले जुराइदिएको थियो । स्थानीय इन्द्रकुमार श्रेष्ठका अनुसार सडकबाट पानीको फोहोरा छुटेपछि त्यही मौकामा धेरैले भाँडाकुँडामा पानी भर्न पनि भ्याए । ‘खानेपानी कहिलेकाहीं मात्रै आउँथ्यो, अस्तिदेखि लगातार पानी छोडेछन्’ श्रेष्ठले भने, ‘कवाडी भइसकेको पाइपले कसरी मेलम्चीको पानी थेग्थ्यो !’

आइतबार बिहान रत्नपार्क छिर्ने गेट अगाडि सडकमै पानीका भुल्काहरू देखिए । सडकभरि पानी नै पानी थियो । वर्षामा जस्तै पानी उछिट्याउँदै सवारी साधन हुँइकिइरहेका थिए । मध्याह्नमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारी आएर पानी बन्द गरे । तर, आसपासमा जमेको पानीका कारण साँझसम्म सडक हिलै थियो ।

वीर अस्पतालअघिको चोकमा पनि गत साताबाट लगातार सडकमा पानी रसाइरहेको छ । खानेपानीको पाइप फुटेको हो कि ढलको समस्या हो भन्ने पत्ता लागेको छैन । निरन्तर पानी निस्किएका कारण त्यहाँनेरको सडक भत्किन शुरु गरिसकेको सडक विभागका अधिकारीहरू बताउँछन् ।

रत्नपार्ककै मोडमा पनि नालाको छेउबाट पाइप फुटेर पानी बगिरहेको छ । मूल झैं फुटेर निस्केको पानी नालै–नाला भएर ढलमा पुगेको छ । पानीको मात्रा थोरै भएकाले सडकसम्म पुग्न पाएको छैन ।

मेलम्चीको पानी आएपछि काठमाडौंका विभिन्न भागमा पाइप फुटेर चुहिंदा कति प्रतिशत पानी चुहावट भएको छ भन्ने यकिन तथ्यांक केयूकेएलसँग छैन। तर, पानी चुहिएका स्थानमा तत्काललाई स्थानीय भल्भ बन्द गरेर केयूकेएलले मर्मतको तयारी थालेको छ ।

जताततै समस्या
काठमाडौंमा गत चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण शुरु भयो । त्यसयता शहरका विभिन्न भागमा खानेपानीका पाइप फुट्ने÷चुहिने समस्या देखिएका छन्। केयूकेएलका अनुसार मुख्यगरी पुराना भित्री शहरहरूमा यस्तो समस्या बढी देखिएको छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार कतिपय क्षेत्रका ढल प्रणालीमा पनि समस्या देखिएको छ ।

‘त्रिपुरेश्वर, न्यूरोड, टेबहाल जस्ता भित्री शहरी क्षेत्रमा पाइपबाट पानी चुहिनेलगायतका समस्या धेरै देखिएको छ’ उनले भने, ‘फाट्टफुट्ट रूपमा अन्य शहरी क्षेत्रभित्र ढल र पाइपलाइनबाट पानी बाहिर निस्किएको छ ।’ लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत क्षेत्रका सडकमा पनि यस्तो समस्या बढी देखिएको छ।राईका अनुसार पहिल्यैदेखि ढलको समस्या भएका क्षेत्रका पाइपलाइनमा पनि समस्या देखिएको छ । ढलबाट निस्कने ग्याँसले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको उनको भनाइ छ ।

‘कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिन्छ’ उनले भने, ‘अहिले त्यस्ता क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्दैछौं ।’मेलम्चीबाहेक अन्य विकासे निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति भएकाले ‘लिकेज’ को समस्या बढी देखिएको छ । अहिले केयूकेएलले अनामनगर क्षेत्रका ७२२ वटा धारामा बाहेक अन्य पुरानै प्रणालीबाट पानी छोडेको छ । शुरुमा महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारबाट पानी वितरण थालेको केयूकेएलले पानीपोखेरी र बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी वितरण थालिसकेको छ । अब बाँसबारी हुँदै अन्य क्षेत्रबाट पनि पानी वितरण थाल्ने योजना छ ।अहिलेसम्म मेलम्चीको करिब दैनिक साढे ८ करोड र केयूकेएलको पुरानो स्रोतबाट प्राप्त करिब ६ देखि ७ करोड लिटर पानी वितरण भइरहेको छ । अब क्रमैसँग १५ दिनभित्र मेलम्चीबाट आउने दैनिक करिब १७ करोड लिटर पानी वितरण थालिसक्ने योजना केयूकेएलको छ ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP