२०८२ फाल्गुन २५
March 9, 2026, Monday

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

कोशीपारी अनलाइन संवाददाता
असोज २५, काठमाण्डौं

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक भुइँचालोले देशलाई हल्लायो । सो आन्दोलनको प्रत्यक्ष दबाबमा परेर केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।
प्रधानमन्त्री ओलीले राजीनामा दिनुअघि मन्त्रीहरुले आ–आफ्नो पदत्याग गर्दै सत्ता छाडेका थिए । २४ गतेको जनदबाबले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई समेत भीडले कुटपिट गरेको घटना सार्वजनिक भयो । वहुसंख्यक नेताहरुको घर जलाइयो ।
सत्ता संकटले गम्भीर मोड लिँदैगर्दा भदौ २७ गते मुलुकले पहिलो पटक एक महिलालाई प्रधानमन्त्रीको रूपमा स्वागत गर्‍यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको कुर्सी सम्हालिन् ।
अस्थायी समाधानको रूपमा ६ महिनाका लागि बनाइएको कार्की नेतृत्वको सरकार गठन भएको आज झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।
पहिलोपटक पूर्वप्रधानन्यायाधीश कार्की मुलुकको कार्यकारी प्रमुख बनिन् । तर प्रधानमन्त्री बनेको एक महिना नपुग्दै कार्की नेतृत्वको सरकारले कार्यक्षमता देखाउन नसकेको भनेर आलोचना सुरु भएको छ । मुख्यगरी नयाँ निर्वाचन गराइ मुलुकमा जन निर्वाचित प्रतिनिधिहरुमार्फत सरकार बनाउने म्यान्डेट पाएको कार्की सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउन नसक्ने हो कि भन्ने आशंका सुरु भइसकेको छ ।
एक महिना हुन लाग्दासम्म पनि मन्त्रिपरिषद् अधुरो रहँदा सरकार सञ्चालनमा अनिश्चितता र असन्तुलन देखिन थालेको छ । ६ महिनाको अन्तरिम कार्यकाल पाएको कार्की सरकार अझैसम्म पूर्ण मन्त्रिपरिषद् विस्तार गर्न असफल देखिएको छ । हालसम्म जम्मा ८ मन्त्री मात्र नियुक्त भएका छन्, बाँकी १० मन्त्रालय प्रधानमन्त्री कार्की आफैंले सम्हालिरहेकी छन् ।
हालसम्म बनेको संक्षिप्त मन्त्रिपरिषद्मा अधिकांश मन्त्रीहरू राष्ट्रसेवक कर्मचारी वा प्राविधिक क्षेत्रका पूराना र परिचित नाम हुन् । पूर्वसचिव रामेश्वर प्रसाद खनाललाई अर्थ तथा संघीय मामिला मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, यातायात र सहरी विकास, ओमप्रकाश अर्याललाई गृह, अनिलकुमार सिन्हालाई उद्योगदेखि कानून र सहकारी, महावीर पुनलाई शिक्षा तथा विज्ञान, मदन परियारलाई कृषि, र जगदीश खरेललाई सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पूर्णता नपाएको मन्त्रिपरिषद, निर्णयमा सक्रियता
मन्त्रिपरिषद् अपूर्ण रहँदा पनि प्रधानमन्त्री कार्की सक्रिय छिन् । उनले मन्त्रिपरिषद् बैठकमार्फत जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्दै शहीद परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेकी छन् ।
घाइतेहरूलाई २० हजार रुपैयाँ नगद सहायता र ‘घाइते परिचय पत्र’ प्रदान गरी निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय समेत भइसकेको छ ।
विवादमा ओली र लेखकमाथिको जाहेरी
यता, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरीसमेत विवादमा तानिएको छ । जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाएको छ, जसले कानुनी र राजनीतिक मोर्चामा नयाँ चुनौती सिर्जना गरेको छ । साथै कार्कीले निर्वाचनका लागि राजनीतिक दलहरुसँग समेत छलफल गरेकी छैनन्।
सत्ता संकटको नयाँ मोड
सरकार गठन भएको एक महिनामा मन्त्रिपरिषद् अधुरो हुनु, नीति निर्माणमा ढिलाइ हुनु र निर्णायक राजनीतिक संवादको अभावले देश पुनः अनिश्चिततातर्फ धकेलिने संकेत देखिएको छ ।
आगामी पाँच महिनाभित्रै अन्तरिम सरकारको म्याद सकिँदैछ, तर प्रारम्भिक चरणमै देखिएको यो कमजोरीले कार्की सरकारको विश्वसनीयता र दीर्घकालीन प्रभावकारितामा गम्भीर प्रश्न उठाएको छ । संकेत स्पष्ट छ सत्ता परिवर्तन भयो, तर स्थायित्व अझै टाढा छ ।
सत्ता परिवर्तनपछि नयाँ यथास्थितिमा प्रवेश गरे पनि मुलुकको शासकीय संयन्त्र अझै तंग्रिन सकेको छैन । अब बाँकी पाँच महिनाभित्र प्रधानमन्त्री कार्कीले जनअपेक्षा अनुसारको सुधार र राजनीतिक स्थायित्व दिन सक्लिन् कि सक्दिनन् भन्ने प्रश्न सिंगो देशले चासोका साथ हेरिरहेको छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP