कोशीपारी अनलाइन संवाददाता
भदौ १९, काठमाण्डौं
नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस आज “मानवताको पक्षमा” भन्ने नाराका साथ विविध कार्यक्रमका साथ देशव्यापी रूपमा मनाइएको छ ।
सो अवसरमा रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) का नेपाल प्रमुख डेभिड फिसर र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC) का नेपाल प्रमुख सन्देश श्रेष्ठले संयुक्त रूपमा रेडक्रसको झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त कार्यकारी निर्देशक विडारीले नेपाल रेडक्रसको संस्थागत विकास र सेवामूलक गतिविधिहरूमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रसको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेले गत वर्षभरि संस्थाले पुर्याएका सेवा र उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो ।
त्यस अवसरमा आईएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले भूकम्प, बाढीपहिरो, कोभिड महामारीदेखि हाल तराई क्षेत्रमा देखिएको सुख्खा र हैजाजस्ता चुनौतीपूर्ण परिस्थितिमा रेडक्रस स्वयंसेवकहरूले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
आईसीआरसीका नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतमा द्वन्द्व, भूकम्प र महामारीका समयमा रेडक्रससँगको सहकार्यलाई स्मरण गर्दै हाल पनि वेपत्ता व्यक्तिहरूको खोजीमा सहकार्य भइरहेको जानकारी दिनुभयो ।
यसैगरी रेडक्रसका युवा प्रतिनिधि सुरजकुमार सिंहले संस्थाले युवाको नेतृत्व विकासमा दिएको प्राथमिकता र अवसरप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि युवालाई अझ स्थान दिइने अपेक्षा व्यक्त गर्नुभयो ।
दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषले २५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई शैक्षिक सहयोग र प्रशंसा पत्र प्रदान गरेको थियो । साथै विश्व रेडक्रस दिवसका अवसरमा आयोजना गरिएको फोटो तथा भिडियो प्रतियोगिताका विजेतालाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषका सभापति अमरमणी पौडेलले कोषमा संकलित रकमलाई पारदर्शी र उचित व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।