२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

नेपाल प्रहरीका ३२ महानिरीक्षक : तोरणदेखि चन्द्रदेवसम्म

नेपाल प्रहरीका ३२ महानिरीक्षक : तोरणदेखि चन्द्रदेवसम्म

कोशीपारी अनलाइन, काठमाण्डौं

नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय सन् १९५१ (वि.सं. २००७ चैत) मा स्थापना गरिएको थियो ।
त्यतिबेलादेखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका छन् । तर, हालसम्म नेपाल प्रहरीमा कतिजना आइजीपी भइसकेका छन् ? त्यस्तै नेपाल प्रहरीका पहिलो आइजीपीदेखि ३१ औँ सम्मको फेहरिस्त रोचक छ ।
१. तोरण शमशेर जबरा
नेपाल प्रहरीको पहिलो आईजिपी हुन् तोरण शमशेर जबरा । प्रधान कार्यालयको स्थापनापछि जबरालाई २००७ चैतमा आईजिपी नियुक्त गरिएको थियो । पहिलो महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका जबरा तीन दिनभित्रै पदच्यूत भएका थिए ।
२. नर शमशेर जबरा
तोरण शमशेर पदच्यूत भएपछि दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा नियुक्त भए । उनले दुई वर्ष अर्थात २००७ चैतदेखि २०१० मङ्सिरसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हाले ।
३. ज्ञानबहादुर याक्थुम्बा
नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् याक्थुम्बा । उनले प्रहरीमा भर्ना सेनाको मेजर पदबाट गरेका थिए र पछि नर शमशेर जबरापश्चात २०१० माघ २८ मा उनी महानिरीक्षक भएका थिए । २०१० मंसिरदेखि २०१२ भदौसम्म महानिरीक्षकको रुपमा काम गरे ।
४. गोपाल शमशेर जबरा
गोपाल शमशेर जबरा नेपाल प्रहरीको चौथौं महानिरीक्षक हुन् । २०१२ भदौदेखि २०१३ साउनसम्म उनले महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए । उनी राणा विरोधी अभियानमा समेत लागेका थिए ।
५. पूर्ण सिंह खवास
खवास नेपाल प्रहरीको पाँचौं महानिरीक्षक हुन् । उनले २०१३ साउनदेखि २०१४ भदौसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका थिए ।
६. ढुण्डिराज शर्मा
छैटौं महानिरीक्षकको रुपमा ढुण्डिराज शर्माले जिम्मेवारी सम्हालेका थिए । उनले २०१४ भदौदेखि २०१८ पुससम्म चार वर्ष जिम्मेवारी पाएका थिए ।
७. पहल सिंह लामा
नेपाल प्रहरीको आठौ महानिरीक्षक हुन् लामा । नेपाल प्रहरी क्लबको स्थपना गर्न उनको योगदान उल्लेखिनेय छ । महानिरीक्षकबाट अवकाश पाएपछि उनी कोलकाताको कन्सुलर जनरलको पदमा थिए । उनी २०१८ पुसदेखि २०२३ असारसम्म महानिरीक्षक भए ।
८. रोम बहादुर थापा
थापा आठौं महानिरीक्षक हुन् । मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति समेत हुन् । उनले २०२३ असारदेखि २०२९ असारसम्म नेतृत्वमा रहेर काम गरेका थिए ।
९. खड्गजित बराल
बराल नेपाल प्रहरीका नवौं महानिरीक्षक हुन् । संगठनमा सबैले मन पराउने नेतृत्वमा पर्छन् बराल । इमान्दार स्वभावका बरालले २०२९ असारदेखि २०३५ जेठसम्म नेतृत्वमा रहेर काम गरे ।
१०. दुर्लभ कुमार थापा
नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक थापाले २०३५ सालमा कार्यभार सम्हालेका हुन् । उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना गरिएको थियो । उनले २०३५ साउनदेखि २०३९ जेठसम्म कार्यभार सम्हालेका थिए ।
११. दिलबहादुर लामा
भूतपूर्व नेपाल प्रहरी संगठनका संस्थापक अध्यक्षसमेत रहेका लामाले ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए । २००७ सालमा स्थापना भएको प्रहरीमा ११ औँ संगठन प्रमुखको रूपमा २०३९ असारदेखि २०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा संगठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो ।
१२. हेम बहादुर सिंह
हेमबहादुर सिंह नेपाल प्रहरीको बाह्रौ महानिरीक्षक हुन् । उनलाई चिन्नेहरुले खाकी पोशाक लगाउने अधिकृतको रुपमा चिन्थे । उनले चार वर्ष २०४३ असारदेखि २०४७ जेठसम्म नेतृत्वको रुपमा कार्यभार सम्हालेका थिए ।
१३. रत्नशमशेर जबरा
उनी नेपाल प्रहरीका १३ औं महानिरीक्षक हुन् । विक्रम सम्वत २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो ।
१४. मोतिलाल बोहरा
३० वर्षे सेवाअवधि लागू भएपछि राणालाई हटाएर सरकारले मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो । बोहरा १४ औं महानिरीक्षक हुन् । २०४९ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले आफ्नो चार वर्षे पूरै कार्यकाल २०५३ माघसम्म खाएर अवकाश पाएका थिए ।
१५. धुव्रबहादुर प्रधान
प्रधान १५ औं महानिरीक्षक हुन् । २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका थिए । २०५४ मंसिरसम्म नेतृत्वमा रहेका प्रधान हाल राप्रपाबाट सांसद समेत छन् ।
१६. अच्युतकृष्ण खरेल
खरेल नेपालका १६ औं महानिरीक्षक हुन् । २००३ फागुन २८ गते काभ्रेमा जन्मेका खरेल २०२७ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । निरीक्षकमा प्रवेश गरेका उनले ३१ वर्षको अन्तरालमा महानिरीक्षकसम्मको जिम्मेवारी बहन गरेका थिए । खरेलले २०५३ फागुनदेखि २०५३ चैत र २०५४ मंसिरदेखि २०५७ असोजसम्म नेतृत्वको जिम्मेवारी वहन गरेका थिए ।
१७. प्रदीप शमशेर जबरा
जबरा नेपाल प्रहरीको १७ औं महानिरीक्षक हुन् । २०५७ असोजपछि २०५९ पुससम्म नेतृत्वमा रहेका थिए ।
१८. श्यामभक्त थापा
श्याम भक्त थापा नेपाल प्रहरीका १८ औं महानिरीक्षक हुन् । २०५९ सालमा उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । २०५९ पुसदेखि २०६३ भदौसम्म उनले नेतृत्व गरेका थिए ।
१९. ओम विक्रम राणा
ओम विक्रम राणा २०६३ सालमा प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले २ वर्ष अर्थात २०६५ भदौसम्म महानिरीक्षकको भूमिकामा रहेर काम गरेका थिए ।
२०. हेमबहादुर गुरूङ
गुरूङ नेपाल प्रहरीको २० औं महानिरीक्षक हुन् । उनले २०६५ असोजदेखि २०६५ फागुन चार महिनासम्म संगठनको नेतृत्व गरेका थिए ।
२१. रमेश चन्द ठकुरी
रमेश चन्द ठकुरी २१ औं प्रहरी महानिरीक्षक हुन् । २०६५ फागुनदेखि २०६८ जेठसम्म प्रहरी नेतृत्वमा रहेका थिए ।
२२. रविन्द्र प्रताप शाह
२२ औं प्रहरी महानिरीक्षक हुन् रविन्द्र प्रताप शाह । शाहले २०६८ जेठ १८ गतेदेखि २०६९ भदौ २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए । २०३९ साल भदौ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरी क्रमैसँग पदोन्नती हुदै २०६५ साल असोज २ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए ।
२३. कुवेर सिंह राणा
कुवेर सिंह राणा नेपाल प्रहरीका २३ औं महानिरीक्षक हुन् । उनलाई सरकारले २०६९ भदौ २८ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । उनी २०४० कात्तिक ३० गतेबाट प्रहरी निरीक्षकको रुपमा सेवामा प्रवेश गरेका थिए ।
२४. उपेन्द्र कान्त अर्याल
उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीका २४ औं आइजीपी हुन् । २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुखको पदमा नियुक्त भएका थिए ।
२५. प्रकाश अर्याल
२५ औं आइजी भएका प्रकाश अर्याललाई सरकारले २०७३ चैत २८ मा प्रहरी प्रमुखमा नियुक्त गरेको हो । सुरुमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि अर्यालको भाग्य चम्केको थियो । अर्यालले २०७४ चैत २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने अवसर पाएका थिए ।
२६. सर्वेन्द्र खनाल
सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई २०७४ चैत २६ गते बसेको नेपालको मन्त्रिपरिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । खनाल हाल राजनीतिमा पनि सक्रिय छन् ।
२७. ठाकुर प्रसाद ज्ञवाली
ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७६ माघ २८ मा बसेको नेपालको मन्त्रिपरिषद्को बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।
सर्वेन्द्र खनालले अवकाश पाएपछि माघ २९ मा ज्ञवालीले प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । उनले २०७६ माघ २८देखि २०७७ असार २३ गतेसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए ।
२८. शैलेश थापा क्षेत्री
२८ औँ प्रहरी महानिरीक्षक हुन् शैलेश थापा । उनलाई २०७७ असार २३ मा बसेको नेपालको मन्त्रिपरिषद्को बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारी बहन गरेका थिए ।
२९. धीरज प्रताप सिंह
२०७९ वैशाख १७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका धीरज प्रताप सिंह २९ औं प्रहरी प्रमुख हुन् । २०७९ चैत १० गतेसम्म नेतृत्वमा रहेका सिंह संगठनका अब्बल अधिकृतको पहिचान बनाएका थिए ।
३०. वसन्त बहादुर कुँवर
३० औं प्रहरी महानिरीक्षक हुन् बसन्त कुँवर । २०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट ३० औं प्रहरी महानिरीक्षक नियुक्त भएका कुँवर संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक हुँदै २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका थिए कुँवर ।
३१ . दिपक थापा
नेपाल प्रहरीको ३१औँ महानिरीक्षक हुन् दीपक थापा । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा दीपक थापालाई २०८१ चैत्र ५ गते नियुक्त गरेको थियो ।
३२. चन्द्रकुवेर खापुङ
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते अवकाशमा जाँदैछन् । भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन् ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP