पोखरा : गण्डकी प्रदेशमा गठबन्धनको सरकार आएको एक सय दिन पूरा भएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मलेनको आयोजना गरी एक सय दिनमा भएका उपलब्धीहरु सार्वजनिक गरेको छ । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा निर्वाचित भएर कार्यभार सम्हालेको १०० दिन पुगेको हो ।
सरकारको १०० दिन सन्तोषजनक रहेको बताउँदै सत्तापक्षले यसबीचमा महत्वपूर्ण काम सम्पन्न गरेको बताएपनि प्रमुख प्रतिपक्ष दल एमालेले उपलब्धीमुलक काम गर्न नसकेको भनेर आलोचना गरेको छ । गत २९ जेठमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई विस्थापन गर्दै कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धन सरकार बनेको हो ।
पोखरेल नेतृत्वमा बनेको सरकारले ३१ पानाको किताब नै छपाएर २९ आफूले गरेको काम सोमबार सार्वजनिक गरेतापनि नियमित कामबाहेक उत्साहजनक काम केही भएको छैन । सामान्य विषयलाई पनि किताब नै प्रकाशन गरेर उपलब्धि देखाइएकोबारे पत्रकारले मुख्यमन्त्री पोखरेललाई प्रश्न पनि गरेका थिए । उनले प्रदेश सरकारको कामको विश्लेषण गर्ने जिम्मा पत्रकारलाई नै दिए ।
१ सय दिनमा निजी धारा तथा आधारभूत खानेपानीमार्फत थप २ .३३ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको उपलब्धिमा उल्लेख छ । प्रदेशमा हालसम्म ९३ .६३ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । सरकारले २० किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर सडक ग्राभेल गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
सरकारले उपलब्धिको रूपमा नियमित नियुक्ति, कर्मचारी सरुवा–बढुवा र भेटघाटलाई पनि समावेश गरेको छ । कोभिड कार्यविधि संशोधन, प्रदेश विपद् कोष स्थापना, प्रदेशसभाका पदाधिकारीको पारिश्रमिक विधेयक संशोधन, मन्त्रीको सम्पत्ति विवरण सार्वजनिकीकरण, कर्मचारीको दरबन्दी स्वीकृतिलगायतलाई मुख्यमन्त्री कार्यालयको उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । अर्थ मन्त्रालयले प्रदेशको श्वेतपत्र जारी गरेको छ । बजेट प्रदेशसभाबाट पास गरेको छ । स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरेको छ ।
पोखरेलले आफ्नो सरकारका सय दिनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ११ वटा मन्त्रालयले गरेका कामकारबाहीका फेहरिस्त सुनाए । उनले उल्लेख गरेका काम भने उल्लेखनीय भेटिएनन् । कोभिड महामारीसँग जुध्न गरिएका कामलाई प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धिका रूपमा राखेको छ ।
उनको नेतृत्वमा प्रदेश सरकार बनेको एक सय दिन पुग्दासमेत व्यावहारिक कार्यान्वयन हुन भने सकेको छैन । बजेटमा सम्बोधन भए पनि हालसम्म कार्यविधि बनेको छैन । मुख्यमन्त्री पोखरेलले सय दिनभित्र अघिल्लो सरकारले थालेका कार्यक्रमको कार्यान्वयनमा जोड दिँदै सोही बजेटको सीमितताभित्र रहेर जनताका तत्कालका आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको बताए ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, बर्दिया बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु...