२०८२ माघ ५
January 19, 2026, Monday

ओलीसँग नजिकिने जसपा नेताप्रति मधेसमा आक्रोश

ओलीसँग नजिकिने जसपा नेताप्रति मधेसमा आक्रोश

सिराहा । काठमाडौँमा भइरहेको सत्ता समीकरणको बहसलाई मधेसका जनताले नजिकबाट नियालिरहेका छन् । केन्द्रीय सत्ता समीकरणलाई मधेसी जनताले विशेषरुपले नियाल्नुको कारण हो– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का केही नेताहरुको बढ्दो निकटता । सत्ता समीकरणको बहसमा जसपा केन्द्रविन्दुमा रहेका कारणले पनि मधेसमा यो चर्चाको विषय बनेको छ । चिया पसलदेखि खेतखलिहानसम्म सत्ता समीकरणबारे चर्चा चलिरहेको छ । तर, विगतमा मधेसविरोधी छवि बनाएका केपी ओलीप्रति मधेसका आम जनता अझै सकारात्मक हुन सकिरहेका छैनन् । खासगरी जसपाले ओली सरकारलाई टिकाउन गरिरहेको प्रयासप्रति मधेसको नागरिक समुदाय सन्तुष्ट देखिँदैन ।

०६२÷६३ को आन्दोलनमा सात दलीय मोर्चाबाट आन्दोलनको अगुवाइ गरेका भरत विमल भन्छन्, ‘मधेसी जनताले जसपाको क्रियाकलापलाई नजिकबाट नियालिरहेका छन् । यसको सबै हिसाब– किताब राखिरहेका छन् ।’

ओलीजस्तो व्यक्ति, जसले असंवैधानिक कदम चालेर संसद विघटन गरे, त्यसको विरोधमा जसपाले सबभन्दा पहिले आन्दोलनको घोषणा गरेको थियो । उसले देशैभरि आन्दोलन गरेको थियो । तर, आज उनै ओलीलाई प्रधानमन्त्रीमा राखिराख्न जसपाका केही नेताहरुले अगुवाई गर्न लागेको सुन्दा मधेसी जनताले अपमानित महसुस गरेको उनले बताए ।

मधेसलाई पटक–पटक अपमान गर्ने ओलीकै शरणमा जानु भनेको मधेसी दलका नेतामा लाज शरम नरहेको कुरा पुष्टि भएको बताउँदै उनले मधेसका जनताले ओलीको साथमा सरकारमा जाने कुरालाई नरुचाउने दाबी गरे ।

लामो समय नेपाल सद्भावना पार्टीमा रहेर राजनीति गरेका खुशीलाल मण्डल अहिले राजनीतिबाट अलग छन् । पार्टीमा आवद्ध नभए पनि राजनीतिक–समाजिक गतिविधिमा सक्रिय सप्तरीका मण्डल भन्छन्, ओलीले मधेसको माग पूरा गर्दिन्छन् भने महन्थ ठाकुर र राजेन्द्र महतोका लागि मृगतृष्णा हो ।’


मण्डलले रातोपाटीसँग भने, ‘ओलीले दुईतिहाइ बहुमत हुँदा पनि मधेसका माग पूरा गर्न सकेनन्, अहिले अल्पमतमा परेका बेला माग कसरी पूरा गर्न सक्छन् ? यति कुरा पनि जसपाका नेताहरुले किन न बुझेका होलान् ? ओलीलाई प्रतिगमनकारी भनेर आन्दोलन गरेको धेरै समय भएको छैन । आज उनैलाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीसमेत विभाजन गर्न तयार हुनुले जसपाका नेताहरुको नियत ठीक देखिएन ।’

त्यसैगरी सिराहाका वरिष्ठ पत्रकार चन्द्रदेव कामती भन्छन्, ‘जसपाको एउटा पक्षले ओलीलाई साथ दिने भनिरहेको छ, मधेसका लागि यो जतिको अहित अरु केही पनि हुँदैन । ओली प्रतिगमनकारी हुन् भन्ने नारा लगाउने जसपा पनि हो, अहिले प्रतिगमनलाई साथ दिनु भनेको आफू पनि प्रतिगमनकारी नै हुनु हो ।’

शिक्षक एवं समाजिक अभियन्ता रामसुफल सदायले पनि ओली एउटा प्रतिगमनका प्रतिमूर्ति भएको बताउँदै उनलाई सम्झँदा मधेस आन्दोलनको झझल्को आउने गरेको बताए । उनले भने, ‘ओलीले मधेसलाई हेप्ने बाहेक अरु केही काम गरेका छैनन् ।’

अर्का शिक्षक पर्शुराम साह भन्छन्, ‘मधेसवादी दलका लागि सत्ता नै ठूलो कुरा हो भन्ने यसबाट पुष्टि हुन्छ । कोसँग सत्ता सहकार्य गर्ने, कोसँग नगर्ने कुराको सेन्स छैन भने राजनीति नगर्दा हुन्छ ।’

एकजना रेशम चौधरीलाई छाड्दैमा मधेसले के पाउँछ भन्ने प्रश्न गर्दै उनले भने, ‘के रेशम चौधरीलाई छाडेर ओलीलाई मनपरी गर्न छुट दिने हो त ? जसपालाई रेशम चौधरीमात्रै चाहिएको हो कि संघीय लोकतन्त्र चाहिएको हो ? फैसला गर्ने समय आएको छ ।’

ओलीलाई शक्तिशाली बनाउन जसपाले भूमिका खेल्न नहुने बताउँदै साहले भने, ‘ओलीलाई यस्तो शक्तिशाली बनाउने काममा विगतमा मधेसवादी दलको पनि हात छ । अब त्यो गल्ती दोहो¥याउनु हुँदैन ।’

लाहान नगरपालिका वडा नम्बर ७ मा जसपाबाट वडाअध्यक्ष बनेका राकेश रोशन गुप्ता भन्छन्, ‘ओलीसँग गठबन्धन बनाएर सरकार बनाए पनि मधेसको माग पूरा हुन्छ भन्नेमा मधेसले विश्वास गरेको छैन । मधेस आन्दोलन हुँदा मधेसी जनता पीडामा थिए । कैयौंले सहादत प्राप्त गरे । तर, ओलीले त्यसलाई मजाक बनाउनुभयो । एक÷दुईवटा आँप झर्दैमा केही हुँदैन भन्नुभयो, जुन मधेसी जनताको ठूलो अपमान हो ।’

हुन त यसअघि पनि तत्कालीन समाजवादी पार्टी र राजपाले ओलीलाई सरकार बनाउन सहयोग गरेका थिए । राजपाले बाहिरबाट समर्थन गरेको थियो भने उपेन्द्र यादवले सरकारमै गएर ओलीलाई दुई तिहाई पु¥याइदिएका थिए ।  तर, मधेसवादी दलले समर्थन गरे पनि ओलीले संविधान संशोधन गरेनन् र दुबै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

गुप्ता भन्छन्, ‘असंवैधानिक तरिकाले संसद विघटन गरेका कारण पनि मधेसी जनता ओलीप्रति सकारात्मक छैनन्, उनी टेस्टेड भइसकेका छन्, अब फेरि उनैलाई समर्थन दिनु भनेको मधेससँग बेइमानी गर्नु हो ।’

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७७ चैत्र २२

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७७ चैत्र २२

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७७ चैत्र २२

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP